कालीकोट २० भाद्र । कर्णाली प्रदेशका माथिल्लो भेगमा भएको वर्षासँगै कालीकोट भई बग्ने तिला नदीमा जलस्तर उल्लेख्य रूपमा बढेको छ। नदीको बहाव तीव्र बनेपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता र सजगता अपनाउन अपिल गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत एक घण्टाको अवधिमा कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ। विभागको स्वचालित मौसमी मापन केन्द्रको विवरण अनुसार जुम्लास्थित डाँफेलेक स्टेसनमा सर्वाधिक ७.७ मिलिमिटर र दैलेखको कट्टी स्टेसनमा ६ मिलिमिटर वर्षा मापन गरिएको छ। प्रदेशका अन्य मापन केन्द्रहरूमा १.४ र १.२ मिलिमिटरसम्म वर्षा दर्ता भएको छ।
उपल्लो जलाधार क्षेत्रमा परेको वर्षाका कारण तिला नदीमा बाढीको जोखिम बढेकाले नाग्म बजार, सेराचौर लगायत नदी किनारका बस्तीका नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नदी किनारमा नजान, माछा मार्न वा काठ सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगर्न र सम्भावित विपद्बाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
हाल प्रदेशभर समग्र वर्षाको परिमाण सापेक्षित रूपमा सामान्य रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले नदीमा जलस्तर अझै बढ्न सक्ने भन्दै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको छ।