धनगढी २० भाद्र । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवसका अवसरमा जिल्ला शाखा कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले केन्द्रीय तदर्थ समितिका सदस्य मन्जु साउदलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।
आर्थिक सहयोगका साथै कैलाली शाखामा सङ्कलन गरिएका विभिन्न प्रकारका राहत सामग्रीहरूसमेत केन्द्रीय कार्यालयमार्फत प्रभावित क्षेत्रमा पठाइएको छ। शाखाका अनुसार बाढी प्रभावित परिवारका लागि अत्यावश्यक सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री, स्वास्थ्यका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री र सुख्खा खाना (ड्राई फुड) लगायतका राहत सामग्रीहरू सङ्कलन गरी पठाइएको हो।