कालीकोट २० भाद्र । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार कर्णाली प्रदेशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। विभागका विभिन्न स्थानमा रहेका स्वचालित मौसमी मापन केन्द्रहरूले (AWS) दर्ता गरेको तथ्याङ्क अनुसार हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।
विभागका अनुसार मुगुको माङ्ग्री स्टेसनमा सर्वाधिक ७१.६ मिलिमिटर वर्षा दर्ता भएको छ। त्यसैगरी कालीकोट जिल्लाका विभिन्न भागहरूमा पनि भारी वर्षा भइरहेको छ। कालीकोटको मान्मस्थित स्टेसन (Manma_AWS) मा ५६.२ मिलिमिटर र गेला स्टेसन (Gela) मा ५४ मिलिमिटर वर्षा मापन गरिएको छ। क्षेत्रका अन्य स्टेसनहरूमा ३२.६ मिलिमिटर, २९.८ मिलिमिटर र २६ मिलिमिटर वर्षा दर्ता भएको छ।
अविरल वर्षाका कारण खोला तथा नदीहरूमा जलस्तर बढ्न सक्ने, भिरालो जमिनमा पहिरो जाने र सडक यातायात अवरुद्ध हुन सक्ने उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले खोला किनारका तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका बस्तीका नागरिकहरूलाई उच्च सजगता र सतर्कता अपनाउन अपिल गरेका छन्।