कालीकोट १३ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,००,०००/– (दुई लाख रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको कार्यालय, मेहलमुडीले २०८३ भाद्र १२ गते एक विज्ञप्ति जारी गर्दै बाढीपीडितको राहत तथा पुनर्मूल्याङ्कन/पुनःस्थापनाका लागि उक्त सहयोग रकम कोषमा जम्मा गर्ने निर्णय भएको जनाएको हो।
गत भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको खबरले सान्नीत्रिवेणी गाउँपालिका परिवार अत्यन्तै मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ। विपत्तिको यस कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्दै दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
मानवीय संवेदना र आपसी ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै यो सहयोग रकम ठूलो विपत्तिको तुलनामा सानो भए तापनि पीडामा रहेका नागरिकहरूप्रति गाउँपालिकाको साथ र मानवीय जिम्मेवारीको प्रतीक रहेको विज्ञप्तिमा जनाइएको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक सङ्घ-संस्था, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य र एकताका लागि गाउँपालिकाले आह्वान गरेको छ।
उक्त विज्ञप्तिमा गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी., उपाध्यक्ष पार्वती सिंह (संज्याल) र प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ।
