चितवन १३ भाद्र । विनाशकारी रसुवा बाढीमा परी चितवन जिल्लाबाट संकलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ वटा शवहरूलाई देवघाटस्थित खुला स्थानमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले २०८३ भदौ १३ गते शनिबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
जिल्ला प्रशासनका अनुसार संकलन गरिएका २३३ शवमध्ये ४ वटाको मात्र पहिचान खुलेको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका बाँकी शव तथा शवका अवशेषहरू सडेगलेको र अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालीन व्यवस्थापकीय प्रबन्धबाट राखिएका शवहरू दुर्गन्धित बन्दै गएकाले महामारी तथा सङ्क्रमण फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको रायलाई ध्यानमा राख्दै यो बाध्यात्मक कदम चालिएको हो।
जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गते बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरू व्यवस्थापन गर्ने निर्णय गरेको छ। जसअनुसार भविष्यका लागि सबै शवहरूको डिएनए (DNA) नमूना संकलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपश्चात् भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा शवहरू जमिनमुनि व्यवस्थापन गरिनेछ।
प्रशासनले शोकको यस विषम परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिई सहयोग र समन्वय गरिदिन आग्रह गर्दै बाध्यात्मक अवस्थाका कारण पीडित परिवारमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ।
विषयबारे थप जानकारीका लागि प्रहरी निरीक्षक अनिल थापा (९८५५०-१७०९९) र सशस्त्र प्रहरी हवल्दार सुजन खनाल (९८५१३५९९५८) लाई सम्पर्क गर्न सकिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
