काठमाडौँ १२ भाद्र । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पवित्र पर्व जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी आज देशभर वैदिक सनातन परम्परा अनुसार श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। सत्ययुगदेखि चल्दै आएको मान्यता अनुसार यस दिन धार्मिक विधिपूर्वक मन्त्रिएको जनै (यज्ञोपवीत) फेर्नुका साथै नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने गरिन्छ।
पर्वको धार्मिक तथा पौराणिक पृष्ठभूमि
शास्त्र अनुसार आजको दिनलाई ‘ऋषितर्पणी’ र ‘वेदोपाकर्म’ पनि भनिन्छ। हिन्दू धर्मावलम्बीहरू बिहानै नदी, कुण्ड, तलाव वा धारामा गई गाईको गोबर, खरानी, तिल र अपामार्ग प्रयोग गरी स्नान गर्दछन्। स्नान पश्चात् कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तर्षि तथा अरुन्धतीको पूजा-आराधना गरी तर्पण दिने परम्परा छ।
पौराणिक मान्यता अनुसार, दानवराज बलि अत्यन्त शक्तिशाली भएर देवगणलाई पराजित गरेपछि देवगुरु वृहस्पति र इन्द्राणीले देवराज इन्द्रको कल्याण र विजयका लागि मन्त्रित रक्षासूत्र बाँधिदिएका थिए। सोही रक्षासूत्रका कारण इन्द्रले दानवहरूमाथि विजय प्राप्त गरेको पौराणिक आख्यान छ।
रक्षासूत्र (डोरो) बाँध्दा उच्चारण गरिने सङ्कल्प मन्त्र:
पुरोहित तथा गुरुहरूले यजमानको दाहिने नाडीमा रक्षाबन्धन बाँधिदिँदा निम्न पौराणिक मन्त्र उच्चारण गर्ने गर्दछन्:
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल॥
अर्थ: जुन अत्यन्त शक्तिशाली दानवेन्द्र राजा बलि जसद्वारा बाँधिएका थिए, त्यही रक्षासूत्रले म तिमीलाई बाँध्दछु। हे रक्षासूत्र! तिमी स्थिर रहनु, आफ्नो रक्षाको कर्तव्यबाट विचलित नहुनु।
जनै फेर्दा पढिने मन्त्र:
नयाँ यज्ञोपवीत धारण गर्दा वैदिक विधि अनुसार मन्त्रिएको जनै निम्न मन्त्र उच्चारण गर्दै गलामा धारण गरिन्छ:
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहाजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः॥
आजका दिन पशुपतिनाथ, पाटनको कुम्भेश्वर, गोसाइँकुण्ड, जनकपुरको गङ्गासागर लगायतका देशभरका धार्मिक स्थलहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। रक्षाबन्धनले मानिसमा आत्मसंयम, पवित्रता, सामाजिक भाइचारा र परस्पर रक्षाको भावना जागृत गराउने विश्वास गरिन्छ।