कालीकोट १० भाद्र । रसुवा लगायतका बाढी तथा पहिरो प्रभावित जिल्लाहरूमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा पुगेका कालीकोटका नागरिकहरूको स्थिति यकिन गरी खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटले सार्वजनिक अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटद्वारा जारी सूचना अनुसार, बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना आफन्तहरू सम्पर्कमा आए/नआएको यकिन गरी उनीहरूको खोजतलास र उद्धारका लागि तुरुन्त नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय कालीकोटमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
नागरिकहरूको सहजता र द्रुत सूचना सम्प्रेषणका लागि प्रशासनले मुख्य सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरेको छ। जसअनुसार प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५८३३७७७७ र जिल्ला प्रहरी कार्यालय कालीकोटको मोबाइल नम्बर ९८५८३३५५५५ मा सम्पर्क गरी हराइरहेका वा सम्पर्कविहीन भएका व्यक्तिहरूबारे जानकारी दिन सकिनेछ।
प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईद्वारा हस्ताक्षरित सूचनामा बाढी प्रभावित क्षेत्रमा परेका जिल्लावासीको खोजतलास तथा उद्धार कार्यलाई तीव्रता दिन स्थानीय प्रशासन पूर्ण रूपमा सक्रिय रहेको र आफन्तहरूलाई पनि निरन्तर समन्वयमा रहन आग्रह गरिएको छ।