कालीकोट ७ भाद्र। खाँडाचक्र नगरपालिकाको बहुउद्देश्यीय प्रशासनिक भवन निर्माणका लागि अन्धाधुन्ध चलाइएको डोजरका कारण मान्म सेरापाटाका स्थानीय घरबारविहीन हुने स्थितिमा पुगेका छन्। जग खन्ने क्रममा गएको पहिरोले स्थानीय लालप्रसाद पोखरेलको ४१ लाख लागतमा बनेको ३ तले घर पूरै भत्किएको छ भने कर्णप्रसाद चौलागाईंको १ करोडभन्दा बढी लागतको पक्की घर चर्किएर बस्नै नमिल्ने भएको छ।
नगरपालिकाको लापरबाहीका कारण अन्य ७ घर पहिरोको उच्च जोखिममा परेका छन्। जग खन्दा मुख्य सडक नै भासिएपछि जिरो पोइन्टबाट मान्म बजार आवतजावत गर्ने बाटो ठप्प भएको छ। जसका कारण नागरिकहरू घुमाउरो बाटो हिँड्न बाध्य छन् भने व्यापारीहरूले ठुलो मर्का खेप्नुपरेको छ।
१९ करोड ६२ लाखभन्दा बढी लागतको ७ तले भवन निर्माणका लागि २०८१ पुसमा एम/एस आर एन्ड सीएससँग ठेक्का सम्झौता भए पनि कामको गति सुस्त हुँदा र भौगर्भिक संवेदनशीलतालाई ध्यान नदिँदा यो विपद् निम्तिएको हो। पूर्वाधार मन्त्रीले समेत सडक विस्तार र जोखिमका कारण काम रोक्न निर्देशन दिए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको थियो।
नगरपालिकाको विकासका नाममा नागरिकको उल्लील्ली बनाउने यस्तो ‘मानव सिर्जित विपद्’ को तत्काल समीक्षा हुनुपर्छ। विस्थापित पोखरेल परिवार तथा क्षति पुगेका मकान धनीहरूलाई नगरपालिकाले तत्काल उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ। साथै, थप धनजनको क्षति हुन नदिन जोखिममा रहेका घरहरूको प्राविधिक सुरक्षा गर्दै अवरुद्ध मान्म बजार जोड्ने सडकको वैकल्पिक वा स्थायी समाधान तत्काल पहिल्याउन अति आवश्यक देखिन्छ।