कालीकाेट ४ भाद्र। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी २३ वर्षीया बिनिता प्याकुरेललाइ नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ।
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी नहकुल सिम्खाडाकी श्रीमती बिनिता भदौ २ गते रास्कोट अस्पताल गौतुमा भर्ना हुनुभएको थियो। लामो समयसम्म प्रसूति व्यथा लागे पनि व्यथा नबढ्ने र गर्भमा रहेको बच्चाको मुटुको धड्कनसमेत अनियन्त्रित भई आमा र बच्चा दुवैको ज्यान जोखिममा परेपछि रास्कोट अस्पतालले थप उपचारका लागि सिफारिस गरेको थियो।
बिरामीको जटिल स्वास्थ्य अवस्था र कमजोर आर्थिक स्थितिलाई ध्यानमा राख्दै प्रादेशिक रणनीतिक रास्कोट अस्पतालको अनुरोधमा जिल्ला प्रशासन कार्यालय कालीकोटले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत आपत्कालीन हवाई उद्धारका लागि गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पत्राचार गरेको थियो।
सोही सिफारिसका आधारमा रास्कोट नगरपालिका वडा नं. ४ स्थित रास्कोट अस्पताल गौतुबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उहाँलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताउनु भयाे।