काठमाडौँ ३१ साउन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले साउन ३१ र भदौ १ गते देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको प्रभाव तीव्र रहने अनुमान गरिएको छ।
साउन ३१ गते आइतबार देशभर साधारणतया बादल लागी पश्चिमी तथा मध्य पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रका साथै तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको जोखिम रहेकाले तटीय तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
त्यस्तै, भदौ १ गते सोमबार पनि सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा जारी रहनेछ। सोमबार दिउँसो सुदूरपश्चिमका केही स्थानमा पुनः धेरै भारी वर्षाको सम्भावना छ। राति भने कोशी, मधेश र सुदूरपश्चिममा सामान्य बादल लागे पनि बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली भई वर्षाको क्रम केही घट्ने अनुमान छ। लगातारको वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहने भन्दै यात्रा गर्दा सावधानी अपनाउन चेतावनी दिइएको छ।