कालीकाेट ३१ साउन। कर्णाली प्रदेश सरकारले जाजरकोटमा अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल शाहीले जाजरकोटमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत व्यवस्थापनका लागि प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी दिनुभएको छ। मिति २०८३ साउन २९ गतेदेखि परेको अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायतका क्षेत्रमा ठूलो पहिरो गएको छ।
मुख्यमन्त्री शाहीका अनुसार पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि तिनै तहका सुरक्षा निकाय तथा गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ। कर्णाली प्रदेश आपत्कालीन गोदामघरमा रहेका राहत सामग्रीहरू यकिन तथ्याङ्कका आधारमा तत्काल प्रभावित क्षेत्रमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। यसका साथै, राउटेरे क्षेत्रमा परेका करिब १६ जनाको उद्धारका लागि सुरक्षा निकायबाट विशेषज्ञ टोली परिचालन गरी समन्वय भइरहेको छ।
यसैबीच, जाजरकोट बाढीपहिरोमा परी हालसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। पहिरोमा परी ११ जना घाइते भएकामा ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा उद्धार तथा खोजी कार्यका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जसअन्तर्गत नेपाल प्रहरीका ३५, सशस्त्र प्रहरी बलका ४५ र नेपाली सेनाका ५५ जना गरी कुल १३५ जना सुरक्षाकर्मीको टोली खटिएर कार्य गरिरहेको छ।
