Loading

जाजरकोटको भेरी नगरपालिकामा अविरल वर्षापछि पहिरो: १० घाइते, ३ जना अझै सम्पर्कविहीन

जाजरकोटको भेरी नगरपालिकामा अविरल वर्षापछि पहिरो: १० घाइते, ३ जना अझै सम्पर्कविहीन

जाजरकोट ३१ साउन। अविरल वर्षापछि आएको विनाशकारी पहिरोले घर तथा टहरा भत्किँदा जाजरकोटको भेरी नगरपालिकामा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको भारी वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङसहित आसपासका क्षेत्रमा भीषण पहिरो खसेको हो।

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा ध्वस्त पारेको छ। घर क्षति भएपछि पाँच जनाको परिवार अहिले आफन्तकोमा शरण लिएर बस्न बाध्य छन्। यस्तै, भैरवी केसीका दुईवटा अस्थायी टिनका टहरा पनि पहिरोले पुरिएका छन्, जहाँ हाल बसोबास भने थिएन।

पहिरोमा परी गम्भीर घाइते भएका ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीया भद्राकली कार्की र ५२ वर्षीय केदार कार्कीलाई जाजरकोट जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको छ। अन्य घाइतेहरू सिद्धिबहादुर कामी, अनिता कार्की, १० वर्षीय बालक युनिश शाही र सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने मनवीर चदरा, मनिषा विक र मोतीकला विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

पहिरो आउने क्रममा भागदौड हुँदा ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। घटनाको लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० जनाको एकीकृत सुरक्षा टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको र घटनाको थप विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार