काठमाडौँ ३० साउन। स्वास्थ्य बीमा बोर्डले बीमा सेवालाई थप सहज, प्रविधिमैत्री र पारदर्शी बनाउन विद्युतीय माध्यमबाट आबद्धता तथा नवीकरण सम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। बोर्डले जारी गरेको “विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३” अनुसार अब सर्वसाधारण तथा बीमितहरूले OpenIMIS प्रणालीमार्फत घरमै बसेर अनलाइन आवेदन तथा नवीकरण गर्न सक्नेछन्।
नयाँ व्यवस्था अनुसार बीमित स्वयं, दर्ता सहयोगी वा सम्बन्धित कार्यालयमार्फत अनलाइन आवेदन दिन सकिनेछ। यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट, मोबाइल बैंकिङ वा पेमेन्ट गेटवेमार्फत योगदान रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। अनलाइन प्रविष्ट गरिएका विवरणहरूलाई सम्बन्धित दर्ता अधिकारीले ३ कार्यदिनभित्र रुजु गरी प्रमाणीकरण गर्नुपर्नेछ भने प्रदेश संयोजकको अन्तिम स्वीकृतिपछि मात्र बीमालेख सक्रिय हुनेछ।
कार्यविधिले बीमालेख सक्रिय हुने अवधि (Waiting Period) सम्बन्धी स्पष्ट नियम तोकेको छ। नयाँ आबद्धताको हकमा भुक्तानी गरिएको महिनालाई आधार महिना मानी त्यसपछिको एक महिना ‘वेटिङ पिरियड’ रहनेछ र तेस्रो महिनाको १ गतेदेखि मात्र बीमा सुविधा लागू हुनेछ। उदाहरणका लागि, असारमा भुक्तानी गरेमा साउन महिना पर्खाइको अवधि रहनेछ र भदौ १ गतेदेखि सेवा लिन सकिनेछ। तर नियमित रूपमा म्याद सकिनुअगावै नवीकरण गर्ने बीमितको हकमा भने यो पर्खाइको अवधि लागू हुने छैन।
त्यस्तै, अति गरिब, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविका लगायतका लक्षित वर्गका लागि स्थानीय तह वा तोकिएको निकायबाट कागजात पुष्टि भएपछि प्रणालीमै नि:शुल्क वा अनुदानको व्यवस्था (Subsidy Flag) कायम हुनेछ। प्रणालीको डाटा सुरक्षाका लागि उच्च प्रविधि अपनाइएको र गलत विवरण पेश गरी दोहोरो सुविधा लिएमा बीमालेख रद्द गरी कानुन बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ।
