Loading

मन्त्रिपरिषद् निर्णय: विद्युतीय एम्बुलेन्समा कर छुट, चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद् निर्णय: विद्युतीय एम्बुलेन्समा कर छुट, चार जनालाई सहिद घोषणा

काठमाडौँ २६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले जनस्वास्थ्य, कूटनीतिक नियोग विस्तार र जनजीविकासँग जोडिएका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले देशभित्र पैठारी (आयात) वा स्वदेशमै उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। यस कदमले मुलुकमा वातावरणमैत्री र किफायती स्वास्थ्य आपतकालीन सेवाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, सुनसरी र सिराहा जिल्लामा भएका विभिन्न प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जना नागरिकलाई सरकारले सहिद घोषणा गरेको छ। सहिद घोषणा हुनेहरूमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता तथा सिराहाका गनेश कुमार यादव रहेका छन्।

कूटनीतिक सम्बन्ध विस्तारतर्फ, मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (Consular Office) खोल्न सहमति दिने निर्णय गरेको छ। यस निर्णयबाट पोर्चुगल जाने तथा त्यहाँ रहेका नेपाली नागरिकहरूलाई कन्सुलरसम्बन्धी सेवा लिन सहज हुनेछ।

यस्तै, बैठकले वैदेशिक रोजगार बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

साथै, बहुचर्चित एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी विवादको अध्ययन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको ‘अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार