कालीकोट, २५ साउन । खाँडाचक्र नगरपालिका–७ पिलीस्थित मेहेल्या उकालो नजिकै अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब ६:३० बजे पिलीबाट सदरमुकाम मान्म जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका महाबै गाउँपालिका–५ गेलाका ३५ वर्षीय मंगल शाहीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाँदै गर्दा बाटोमै (तिलागुफा–५ राचुली) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो। दुर्घटनामा उहाँकी पत्नी सविना शाहीसमेत गम्भीर घाइते हुनुभएको छ।
यस्तै, दुर्घटनामा महाबै गाउँपालिका–५ का २९ वर्षीय कुलप्रसाद उपाध्याय र महाबै–६ की २६ वर्षीया प्रतिमा आचार्य घाइते हुनुभएको छ। घाइतेहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।
अटो चालक खाँडाचक्र–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई बालक, नौ जना यात्रु र तीन वटा ग्यास सिलिन्डर बोकेको अटो क्षमताभन्दा बढी लोडका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले भनाइ छ । दुर्घटना भएपनि कर्णाली राजमार्गको यातायात भने सुचारु नै रहेको प्रहरीले जनाएको छ।