सुर्खेत, ९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बोलाइएको बैठकमा उनले राजीनामा दिएका हुन्। पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण नगरेको र धोका दिएको आरोप लगाउँदै असार ३१ गते सत्ता साझेदार नेपाली काङ्ग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।
त्यसलगत्तै असार ३२ गते काङ्ग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। काङ्ग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाएपछि कँडेल नेतृत्वको सरकार संकटमा परेको थियो।
२०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेल नेतृत्वको सरकारमा केन्द्रको सत्ता समीकरण बदलिएपछि २०८१ साउनमा काङ्ग्रेस सहभागी भएको थियो।