काठमाडौँ, ७ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले निर्माण कार्य खरिदसँग सम्बन्धित नमुना बोलपत्रसम्बन्धी कागजात (Standard Bidding Documents – SBD) मा संशोधन तथा परिमार्जन गरेको छ। सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०६३ को व्यवस्था बमोजिम मिति २०८३ साउन ६ गतेको सचिवस्तरीय निर्णयअनुसार कागजात परिमार्जन गरी नयाँ विज्ञप्ति जारी गरिएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (३) को खण्ड (ग) बमोजिम सार्वजनिक निकायहरू, बोलपत्रदाता, बैंक तथा वित्तीय संस्थाहरू लगायत सम्पूर्ण सरोकारवालालाई प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले परिमार्जित कागजात कार्यालयको आधिकारिक वेबसाइट (www.ppmo.gov.np) मा अपलोड गरिएको छ।
कार्यालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भण्डारीका अनुसार २० मिलियन (२ करोड रुपैयाँ) भन्दा बढी मूल्यको राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र (NCB) तर्फ ‘Single Stage: Two-Envelope Bidding Procedure’ सम्बन्धी नमुना बोलपत्र कागजात परिमार्जन गरिएको छ। अबदेखि सबै सार्वजनिक निकाय तथा बोलपत्रदाताहरूले निर्माण कार्यको खरिद प्रक्रियामा यही परिमार्जित कागजात प्रयोग गर्नुपर्नेछ।
