कालीकोट, ७ साउन । जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूका लागि पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज तयार पार्ने प्रक्रिया अघि बढेको छ। गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रानुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई NIDMIS प्रणालीमा आबद्ध गर्न तत्काल राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन सूचना जारी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माद्वारा जारी सूचना अनुसार सहिद परिवार र घाइतेहरूलाई राज्यबाट प्रदान गरिने सुविधामा आबद्ध गराउन राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अत्यावश्यक रहेकाले अविलम्ब दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ।
सूचना अनुसार कालीकोटका ११ जना घाइतेहरूलाई तत्काल राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न भनिएको छ। जसमा खाँडाचक्र नगरपालिका–१ का २५ वर्षीय पवन शाही, तिलागुफा नगरपालिका–१ का २८ वर्षीय धनराज बुढा, पलाता गाउँपालिका–८ का २६ वर्षीय गुप्त राज बम र रासकोट नगरपालिका–१ का १८ वर्षीय शैलेन्द्र वि.क. रहेका छन्।
त्यसैगरी कालीकोटकै २४ वर्षीय मनिस बोहोरा, शुभकालिका गाउँपालिका–८ का २१ वर्षीय धिरज कुमार महतारा र सोही ठाउँका २१ वर्षीय प्रकाश महतारा, २६ वर्षीय रमेश चौलागाईं, २० वर्षीय महेश कठायत, २१ वर्षीय महेश बुढा र १६ वर्षीय उमेश बुढालाई यथाशीघ्र जिल्ला प्रशासन कार्यालयमा पुगी राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन आह्वान गरिएको छ।