Loading

बिल माग्नुस्, १० लाख जित्नुस्: अर्थ मन्त्रालयको नयाँ धमाका !

बिल माग्नुस्, १० लाख जित्नुस्: अर्थ मन्त्रालयको नयाँ धमाका !

काठमाडौँ, ६ साउन । नेपाल सरकार, अर्थ मन्त्रालयले सर्वसाधारण उपभोक्तालाई खरिद बिक्रीमा अनिवार्य बिल (बीजक) लिने बानी बसाल्न र कर अनुपालन बढाउन भन्दै ऐतिहासिक ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को अधिकार प्रयोग गरी जारी गरिएको यो नयाँ कार्यविधि लगत्तै प्रारम्भ भएको छ।

आन्तरिक राजस्व विभागमार्फत सञ्चालन हुने यस कार्यक्रममा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी बिल लिने जुनसुकै नेपाली नागरिक सहभागी हुन पाउनेछन्। भुक्तानी सेवा प्रदायकबाट विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) गर्दा यो प्रणालीमा स्वतः समावेश हुनेछ भने नगद भुक्तानीको हकमा उपभोक्ताले बिल नम्बर, प्यान नम्बर र रकम विभागको वेब पोर्टल वा एपमा प्रविष्ट गरी उपहार टिकट प्राप्त गर्न सक्नेछन्। तर, व्यापारिक प्रयोजनका खरिद, टेलिफोन, इन्टरनेट, बिजुली, गाडी तथा हवाई टिकटका बिलहरू भने यस योजनामा योग्य हुने छैनन्।

विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित (लकी ड्र) प्रणालीबाट विजेता छनोट गर्नेछ। दैनिक विजेता हुने उपभोक्ताले जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ पाउनेछन् भने पाक्षिक रूपमा छानिने एक जना बम्पर विजेताले सोझै १० लाख रुपैयाँ नगद उपहार जित्नेछन्। उपहारको रकममा नियमानुसार २५ प्रतिशत आकस्मिक लाभकर कट्टी गरी विजेताको बैंक खातामा सोझै रकम जम्मा गरिनेछ। विजेताले १५ दिनभित्र सक्कल बिल र परिचयपत्रसहित आन्तरिक राजस्व कार्यालयमा दाबी नगरेमा सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने कार्यविधिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार