कालीकोट, १ साउन । कालीकोटको रास्कोट नगरपालिकाले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सान्तिघाट-सिप्खाना कालोपत्रे सडक निर्माण कार्य समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय कालीकोटबाट ठेक्का स्वीकृत भई के.एस. शनिदेव जे.भी. ले निर्माणको जिम्मा पाएको यस आयोजनाको थपिएको म्याद गत २०८३ साल असार १ गते नै सकिए पनि काम सम्पन्न नभएपछि नगरपालिकाले सार्वजनिक अपिल जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको हो।

नगरपालिकाका अनुसार उक्त सडक निर्माणका लागि २०७८ साल असार ६ गते औपचारिक सम्झौता भएको थियो। विभिन्न कारणले काम ढिलाइ भएपछि २०८३ असार १ गतेसम्मका लागि म्याद थप गरिएको भए तापनि तोकिएको समयसीमाभित्र समेत काम सम्पन्न नहुँदा रास्कोटबासीले लामो समयदेखि सास्ती खेप्नुपरेको छ। वर्षौंदेखि निर्माणाधीन यो सडक समयमै सम्पन्न हुन नसक्दा स्थानीय नागरिकहरू हिउँदमा धुलो र वर्षायाममा हिलोको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यस ढिलासुस्तीले दैनिक यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय व्यापार-व्यवसायलगायत दैनिक जनजीवनका विविध क्षेत्रमा गम्भीर असर पुर्याएको भन्दै रास्कोट नगरपालिकाले गम्भीर चिन्ता र संवेदनशीलता व्यक्त गरेको छ।
रास्कोट नगरपालिकाले आफ्नो जिम्मेवारी र दायित्व अनुसार उक्त आयोजना यथाशीघ्र सम्पन्न गराउन पूर्वाधार विकास कार्यालय कालीकोट र निर्माण व्यवसायी के.एस. शनिदेव जे.भी. लाई पटक-पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदै आएको दाबी गरेको छ। कामलाई तीव्रता दिन आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री परिचालन गरी सम्झौता बमोजिम काम सम्पन्न गर्न आग्रह र समन्वय गरिए पनि निर्माण व्यवसायीले अपेक्षित सक्रियता नदेखाउँदा कामले गति लिन सकेको छैन। अचम्मको कुरा त के छ भने, यस आयोजनाको कुल सम्झौता रकमको ५२.७८ प्रतिशत रकम बराबरको रनिङ्ग बिल भुक्तानी भइसकेको अवस्था छ। तर, आधाभन्दा बढी भुक्तानी लिइसक्दा पनि सडकको अवस्था दयनीय रहनुले ठेकेदारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको नागरिकको हित संरक्षण र स्थानीय विकास निर्माणमा समन्वय गर्ने अधिकारको प्रयोग गर्दै रास्कोट नगरपालिकाले अब थप सम्झौताहीन ढंगले अघि बढ्ने स्पष्ट पारेको छ। नगर प्रमुख धर्मराज शाहीद्वारा हस्ताक्षरित अपिलमा आगामी आर्थिक वर्ष २०८३/०८४ को सुरुवातदेखि नै निर्माण व्यवसायी के.एस. शनिदेव जे.भी. ले निर्माण स्थलमा पूर्ण रूपमा परिचालन भई कालोपत्रे कार्यलाई तीव्रता नदिएमा कडा कानुनी प्रक्रिया अघि बढाइने उल्लेख छ। नयाँ आर्थिक वर्षको सुरुवातमा पनि चित्तबुझ्दो प्रगति हासिल नभए प्रचलित सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली तथा ठेक्का सम्झौताका सर्त बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने (ठेक्का तोड्ने) लगायतका कानुनी कारबाहीका लागि सम्बन्धित नियमनकारी निकायमा औपचारिक रूपमा सिफारिस गरिने नगरपालिकाले चेतावनी दिएको छ। रास्कोटबासीको सहज, सुरक्षित र गुणस्तरीय सडक पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै नगरपालिकाले यस कार्यका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।