कालीकोट ३० असार । कालीकोटको खाँडाचक्र नगरपालिकाको चालु आर्थिक वर्षको कुल वार्षिक बजेट खर्च ७१.२७ प्रतिशत मात्रै सीमित भएको छ। नगरपालिकाले प्रशासनिक र चालु खर्चमा उत्साह देखाए पनि भौतिक पूर्वाधार र विकासतर्फको ठूलो रकम फ्रिज गराउँदा समग्र प्रगति प्रभावित बनेको हो।
नगरपालिकाका लेखा अधिकृत अशोक भण्डारीका अनुसार यस वर्ष चालुतर्फ ८३.८२ प्रतिशत उच्च खर्च भएको छ भने पूँजीगत (विकास) तर्फ जम्मा ५८.७३ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ।
नगरको विकासका लागि महत्त्वपूर्ण मानिएका दुई ठूला आयोजनाको बजेट यसपटक ठूलो मात्रामा फ्रिज भएको छ। लेखा अधिकृत भण्डारीका अनुसार नगरको आफ्नै प्रशासनिक भवन निर्माणका लागि विनियोजन गरिएको ३ करोड ६५ लाख रुपैयाँ र फोहरमैला व्यवस्थापनका लागि अत्यावश्यक मानिएको ल्यान्डफिल्ड साइट (फोहोर फाल्ने ठाउँ) को १ करोड ५४ लाख रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको हो।
यी दुई गौरवका आयोजनाको मात्रै कुल ५ करोड १९ लाख रुपैयाँ विकास बजेट फ्रिज हुनुले नगरको भौतिक पूर्वाधार निर्माणमा गम्भीर धक्का लागेको छ। प्रशासनिक खर्च बढे पनि नगरका मुख्य ठुला आयोजना अलपत्र पर्नु र बजेट फ्रिज हुनुको कारणबारे स्थानीय स्तरमा चासो र चिन्ता बढेको छ।