काठमाडौं २३ असार । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गर्ने ग्राहकहरूको हित संरक्षणका लागि विशेष व्यवस्था गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ को इ.प्रा. निर्देशन नं. २०/२०८२ को बुँदा नं. ६ मार्फत खाता खोल्नेदेखि बन्द गर्नेसम्मका विभिन्न सेवामा शुल्क लिन नपाइने कानुनी व्यवस्था स्पष्ट पारेको हो।
नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको खाता खोल्दा वा चेक जारी गर्दा कुनै पनि प्रकारको सेवा शुल्क लिन पाउने छैनन्। यसैगरी ‘गुड फर पेमेन्ट’ चेक जारी गर्दा, चेकको ‘स्टप पेमेन्ट’ गर्दा, र खातामा रहेको मौज्दात प्रमाणित (ब्यालेन्स सर्टिफिकेट) गर्दा समेत शुल्क लिन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
ग्राहकले आफ्नो खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट लिँदा, विप्रेषण (रेमिट्यान्स) रकम खातामा जम्मा गर्दा र एबीबीएस लगायतका सेवा लिँदा समेत बैंकहरूले कुनै शुल्क दाबी गर्न पाउने छैनन्। तर, ग्राहकले कुनै एक निश्चित अवधिको स्टेटमेन्ट एक पटकभन्दा बढी माग गरेको अवस्थामा भने बैंकहरूले न्यूनतम शुल्क लिन पाउने छुट दिइएको छ।
लामो समयदेखि प्रयोगमा नआएर निष्क्रिय रहेका बैंक खाताहरूलाई पुनः सक्रिय गराउँदा समेत ग्राहकबाट कुनै पनि शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसले ग्राहकहरूलाई आफ्ना पुराना खाताहरू बिना कुनै अतिरिक्त दायित्व पुनः प्रयोगमा ल्याउन सहज हुनेछ।
धेरैजसो ग्राहकहरू मर्कामा पर्ने गरेको न्यूनतम मौज्दातको विषयमा पनि राष्ट्र बैंकले कडा नियम ल्याएको छ। अब कुनै पनि अवस्थामा खाताको रकम न्यूनतम मौज्दातभन्दा कम भएकै कारणले बैंकले थप रकम कट्टा गरी मौज्दात घटाउन पाउने छैन। यसका साथै न्यूनतम मौज्दातका रूपमा राखिएको रकममा समेत बैंकले तोकिएको ब्याज अनिवार्य रूपमा प्रदान गर्नुपर्नेछ।
यी तोकिएका निशुल्क सेवाहरू बाहेक अन्य अवस्थामा ग्राहकसँग शुल्क लिनु परेमा बैंकहरूले ग्राहकलाई अनिवार्य रूपमा पूर्ण जानकारी गराएको हुनुपर्नेछ। जानकारी बिना कुनै पनि अप्रत्यक्ष वा अतिरिक्त शुल्क असुल गर्न नपाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
विद्युतीय कार्ड (एटीएम/डेबिट कार्ड) को सन्दर्भमा नेपाली मुद्रामा जारी हुने कार्डहरूका लागि सुरुमा लिइने शुल्कबाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुञ्जेलसम्म बीचमा कुनै पनि नवीकरण शुल्क लिन पाइने छैन।
राष्ट्र बैंकले सचेत ग्राहक र सुरक्षित बैंकिङका लागि यो चेतनामूलक सन्देश जारी गरेको हो। यदि कुनै बैंकले नियम विपरित शुल्क लिएमा ग्राहकले राष्ट्र बैंकको अनलाइन पोर्टल (www.gunaso.nrb.org.np) वा वित्तीय ग्राहक संरक्षण इकाईको फोन नम्बर ०१–५३१९६०५ मा सम्पर्क गरी आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।