काठमाडौं २३ असार । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले देशभरका निर्माणाधीन विद्यालय भवनहरूको म्याद थप गरिदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक माग गरेको छ। सङ्गठनको राष्ट्रिय समितिले ललितपुरको कुमारीपाटीबाट भक्तपुरको सानोठिमीस्थित केन्द्रका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ध्यानाकर्षण पत्र पठाएको हो।
नेपाल सरकारको अनुदान तथा विभिन्न कार्यक्रम अन्तर्गत देशभर बनिरहेका विद्यालयका भौतिक संरचनाहरू विविध कारणले निर्धारित समयभित्र सम्पन्न हुन नसकेको प्रति सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निर्माण कार्य समयमै नसकिनुमा सरकारी प्रक्रिया र भौगोलिक विकटता मुख्य बाधक रहेको पत्रमा उल्लेख छ।
सङ्गठनका अनुसार निर्माण सामग्री ढिलो उपलब्ध हुनु र आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट विनियोजन तथा निकासा हुनुले विकास कार्य प्रभावित भएको हो। त्यस्तै, समयमा टेन्डर आह्वान हुन नसक्नु र प्रतिकूल मौसमका कारण पनि धेरै विद्यालयका भवन निर्माण कार्य अझै अधुरै रहेका छन्।
विशेष गरी दुर्गम क्षेत्रमा निर्माण सामग्री ढुवानी गर्न निकै कठिनाइ हुने गरेको सङ्गठनले प्रष्ट पारेको छ। भौगोलिक अवस्थिति अनुसार उपयुक्त स्थान व्यवस्थापन गर्न थप समय लाग्ने हुनाले हाल अधिकांश स्थानमा काम जारी रहे पनि चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्था देखिँदैन।
विद्यालयका निर्माणाधीन भवनहरू अधुरो रहँदा बालबालिकाको सिकाइ वातावरण र विद्यालय व्यवस्थापनमा प्रत्यक्ष असर पुगेको पत्रमा उल्लेख छ। यसबाट राज्यको लगानी समेत प्रभावित हुने भएकाले यथार्थ अवस्थालाई मध्यनजर गरिदिन सङ्गठनले आग्रह गरेको छ।
सङ्गठनका राष्ट्रिय अध्यक्ष हंसबहादुर शाहीले देशभरका त्यस्ता अधुरा योजनाहरूको म्याद यथोचित रूपमा थप गरिदिन माग गरेका छन्। यस विषयमा नियमनकारी निकायबाट सकारात्मक निर्णय भई निर्माण कार्यलाई पूर्णता दिन आवश्यक सहजीकरण हुनेमा सङ्गठनले विश्वास व्यक्त गरेको छ।