लम्की,कैलाली २२ असार । कैलाली जिल्ला भएर बहने कर्णाली नदीका दुई छुट्टाछुट्टै स्थानमा सोमबार दुई जनाको बेवारिसे शव फेला परेको छ। मोहन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको तटीय क्षेत्रमा एक पुरुष र एक किशोरीको शव फेला परेको इप्रका चिसापानी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज (सोमबार) बिहान करिब ७:०० बजेको समयमा कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टा स्थित कर्णाली नदीमा एउटा शव बगिरहेको अवस्थामा स्थानीयबासीले देखेका थिए। नदीमा शव रहेकोबारे स्थानीयले टेलिफोनमार्फत जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरी सहायक निरीक्षक (असिई) गणेशबहादुर बोगटीको कमाण्डमा तीन जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले नदी किनारमा पुगेर बुझ्दा नाम, थर र वतन खुल्न नसकेको अन्दाजी ३० देखि ३५ वर्ष उमेर समूहको जस्तो देखिने एक पुरुषको शव नाङ्गो र पानीमा उत्तानो परेको अवस्थामा ढुङ्गा वा गेग्रानमा अड्किएको फेला पारेको छ।
यो घटनाको केही घण्टा बित्न नपाउँदै कर्णाली नदीकै अर्को स्थानमा पनि पुनः अर्को शव फेला परेको छ। आजै बिहान करिब १०:०० बजेको समयमा कैलालीकै लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी स्थित गोरङ्गे भन्ने ठाउँमा कर्णाली नदीमा अर्को लास रहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए। जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी सहायक निरीक्षक (असिई) लक्ष्मण जैसीको कमाण्डमा तीन जनाको प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। इलाका प्रहरी कार्यालय चिसापानीबाट अन्दाजी ४ किलोमिटर पश्चिम-दक्षिण पर्ने उक्त स्थानमा प्रहरीले अनुसन्धान गर्दा नाम, थर र वतन पहिचान हुन नसकेकी अन्दाजी १७ देखि १८ वर्षकी एक महिला (किशोरी) को मृत शव नाङ्गो र पानीमा उत्तानो परेको अवस्थामा फेला पारेको हो। दुवै मृतकको पहिचान खुल्न नसकेकाले उनीहरू कहाँबाट बगेर आएका हुन् वा घटनाको प्रकृति के हो भन्नेबारे स्थानीय प्रहरीले थप कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।