Loading

लगानी केवल व्यवसाय होइन, राष्ट्र निर्माणप्रतिको विश्वास हो: आईएमई ग्रुपका अध्यक्ष ढकाल

लगानी केवल व्यवसाय होइन, राष्ट्र निर्माणप्रतिको विश्वास हो: आईएमई ग्रुपका अध्यक्ष ढकाल

काठमाडौं २१ असार । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानी केवल व्यवसाय विस्तार मात्र नभएर राष्ट्र निर्माणप्रतिको विश्वास र भविष्यप्रतिको प्रतिबद्धता भएको बताएका छन्। बैंकिङ, रेमिट्यान्स, ऊर्जा, अटोमोबाइल, बीमा, सूचना प्रविधि, इन्फोटेनमेन्ट र पर्यटनसहित दुई दर्जनभन्दा बढी क्षेत्रका सार्वजनिक उद्योग व्यवसायहरूको नेतृत्व गरिरहेको आईएमई ग्रुपले विगत साढे तीन दशकभन्दा लामो समयदेखि नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा योगदान दिँदै आएको उनले उल्लेख गरे। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले आईएमई ग्रुप ७७ वटै जिल्लाका नेपालीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएको साझा भरोसाको परिचय बनेको प्रष्ट पारेका छन्। बहुआयामिक क्षेत्रमा गरिएको आफ्नो ग्रुपको लगानीको केन्द्रमा सधैं सरकारको विकास प्राथमिकता, आम नागरिकको आवश्यकता र देशको दीर्घकालीन समृद्धि नै रहने गरेको उनको भनाइ छ।

आफ्नो व्यवसायको मूल उद्देश्य नेपालीको जीवनलाई सहज बनाउँदै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउनु रहेको भन्दै उनले व्यवसायलाई केवल नाफाको विषय मात्र नबनाई राष्ट्र निर्माणको माध्यमका रूपमा लिएको बताएका छन्। यही दीर्घकालीन सोचका साथ सातै प्रदेशमा उपस्थिति विस्तार गरिरहेको आईएमई ग्रुपले अहिले विकासका दृष्टिले अपार सम्भावना बोकेको तर अपेक्षाकृत कम लगानी पुगेको सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर लगानी विस्तारको अभियानलाई तीव्रता दिएको उनले जानकारी दिए। यसै अभियान अन्तर्गत स्थानीय साझेदारहरूसँगको सहकार्यमा कैलालीको चिसापानीमा निर्माणाधीन जालपादेवी केबलकार, पाँचतारे होटल तथा रिसोर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी दुई महिनाभित्रै यस परियोजनालाई सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले खुलाए। यो परियोजनाले सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक पर्यटनलाई नयाँ आयाम दिँदै स्थानीय उत्पादनको बजारीकरण र हजारौंका लागि रोजगारी सिर्जना गर्ने हुँदा यस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणको एउटा महत्वपूर्ण आधार बन्ने विश्वास अध्यक्ष ढकालले व्यक्त गरे।

सुदूरपश्चिमको आर्थिक सम्भावनालाई थप बलियो बनाउन केबलकार परियोजनाबाहेक बैतडीमा सिमेन्ट उद्योग र बझाङमा जलविद्युत् आयोजना अघि बढाउने दिशामा आवश्यक अध्ययन तथा तयारी तीव्र रूपमा भइरहेको समेत उनले सार्वजनिक गरेका छन्। केही दिनअघि मात्रै कैलाली, अछाम, डडेलधुरा, बैतडी हुँदै बझाङसम्मको आफ्नो भ्रमणका क्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा समुदायसँग आत्मीय संवाद गर्ने अवसर मिलेको उल्लेख गर्दै उनले यस यात्राले सुदूरपश्चिममा दीर्घकालीन लगानी विस्तार गर्ने आईएमई ग्रुपको विश्वासलाई अझ मजबुत बनाएको बताए। लगानी त्यहीँ पुग्छ जहाँ सम्भावना, विश्वास र सकारात्मक वातावरण हुन्छ भन्दै उनले निजी लगानी आकर्षित गर्न र आर्थिक गतिविधि बढाउन सुदूरपश्चिमका राजनीतिक दल, प्रदेश तथा स्थानीय सरकार र आम समुदायले देखाएको प्रतिबद्धताप्रति हृदयदेखि आभार व्यक्त गरे। नेपालको कुनै पनि भूगोल टाढा र कुनै पनि सम्भावना सानो नभएको जिकिर गर्दै अध्यक्ष ढकालले जहाँ सम्भावना हुन्छ, त्यहाँ लगानी गर्ने साहस र जहाँ विश्वास हुन्छ, त्यहाँ दीर्घकालीन सहयात्रा गर्ने प्रतिबद्धता नै आईएमई ग्रुपको मूल दर्शन रहेको र सुदूरपश्चिमसँगको सहयात्रा अब अझ व्यापक र अर्थपूर्ण बन्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार