डोल्पा २१ असार । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार दिउँसो एक बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप दिउँसो करिब १:५० बजेको समयमा अचानक अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खसेर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी जिपमा सवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको छ। चालकसहित कुल १४ जना सवार रहेको उक्त जिपका अन्य १३ जना यात्रुहरू भने घाइते भएका छन्।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार कार्य सुरु गरेका थिए। घाइते सवैजनालाई थप उपचारका लागि छिमेकी जिल्ला जुम्ला पठाउने तयारी भइरहेको छ। घाइतेहरूको छिटो उद्धार र उपचारका लागि जुम्लाको चन्दननाथ नगरपालिकाबाट एम्बुलेन्स घटनास्थलतर्फ पठाइसकिएको छ। दुर्घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।