Loading

कालीकोटमा पोषण प्रवर्द्धन र विषादी न्यूनीकरण अभियान सुरु, जनस्वास्थ्य जोगाउन सरोकारवालाको साझा प्रतिबद्धता

कालीकोटमा पोषण प्रवर्द्धन र विषादी न्यूनीकरण अभियान सुरु, जनस्वास्थ्य जोगाउन सरोकारवालाको साझा प्रतिबद्धता

 कालीकोट २१ असार ।बढ्दो रासायनिक विषादीको प्रयोगका कारण मानव स्वास्थ्य र कृषि क्षेत्रमा गम्भीर चुनौती थपिँदै गएपछि कालीकोटमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण अभियान सुरु गरिएको छ। यसै अभियान अन्तर्गत स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिकाको हलमा एक महत्वपूर्ण समन्वयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका उच्च ओहोदाका जनप्रतिनिधि, प्रशासनिक नेतृत्व र सरोकारवाला निकायका प्रमुखहरूको व्यापक सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले गरेका थिए भने विशेष अतिथिमा खाँडाचक्र नगरपालिकाका प्रमुख कमल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राज जाेशी  र प्रहरी नायव उपरीक्षक (डीएसपी) हिमबहादुर खत्री रहेका थिए।

अभिमुखीकरणका क्रममा कृषि उपजमा प्रयोग हुने रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने तत्कालीन र दीर्घकालीन घातक असरका विषयमा गम्भीर विमर्श भएको छ। कार्यक्रममा कृषि र स्वास्थ्य क्षेत्रका विज्ञहरूले बजारमा पाइने विषादीयुक्त रैथाने तथा आयातीत खाद्यान्न र तरकारीको जथाभाभी प्रयोगले मिर्गौला फेल हुने, क्यान्सर लाग्ने र दिगो पोषणमा ह्रास आउने जस्ता गम्भीर समस्या निम्त्याइरहेको प्रति ध्यानाकर्षण गराएका थिए। छलफलमा सहभागी सरोकारवालाहरूले कालीकोटलाई अर्गानीक जिल्लाका रूपमा चिनाउन र कुपोषणको दर घटाउन स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनुपर्ने र विषादीको प्रयोगमा कडा निगरानी राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सरोकारवाला निकायका रूपमा जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु स्वास्थ्य सेवा कार्यालय, खाँडाचक्र नगरपालिका कृषि शाखा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको सक्रिय सहभागिता रहेको थियो। बैठकले विषादी न्यूनीकरणका लागि केवल गोष्ठी र छलफलमा मात्र सीमित नभई स्थानीय कृषकको खेतबारीसम्मै पुगेर सचेतना जगाउने र बजार अनुगमनलाई तीव्रता दिने निष्कर्ष निकालेको छ। अभियानलाई तल्लो तहसम्म प्रभावकारी रूपमा लैजान सञ्चार माध्यम र पत्रकारहरूको भूमिका पनि महत्वपूर्ण हुने सहभागीहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार