दुल्लु (दैलेख) १८ असार । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा भएको फोर्स गाडी दुर्घटनाको उद्धार र विस्तृत विवरणका लागि नेपाल प्रहरीको विशेष टोली घटनास्थलमा परिचालन भएको छ। प्रहरी चौकी पाल्तडाका अनुसार आज बिहान ११:३० बजेको समयमा कर्णाली राजमार्ग अन्तर्गत चामुण्डाविन्द्रासैनी–७ को साँगेतडामा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको आधिकारिक पुष्टि भएको हो।
स्थानीयको सूचना लगत्तै इलाका प्रहरी कार्यालय तथा जिल्लाबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) को कमाण्डमा उद्धारका विशेष सामग्रीसहित ३५ जनाको टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट झन्डै ५० किलोमिटर पश्चिम तर्फ पर्ने उक्त दुर्घटनास्थल अत्यन्तै भिरालो र अप्ठ्यारो रहेको छ।
प्रहरीको प्रारम्भिक विवरण अनुसार अनियन्त्रित भएको उक्त गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा पूर्ण रूपमा डुबेको छ। तीव्र गतिमा भइरहेको खोजी तथा उद्धारका क्रममा भिरमा अड्किएको अवस्थामा फेला परेका एक जना नाम, थर र वतन नखुलेका पुरुषलाई उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। नदीमा गाडी डुबेकाले थप यात्रुहरू हुनसक्ने आशंकामा प्रहरी टोलीले नदी आसपास र पानीभित्र समेत खोजी कार्यलाई तीव्रता दिएको छ। दुर्घटना सम्बन्धी अन्य थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।