Loading

कर्णाली जेसीज कालीकोटद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सयभन्दा बढी नागरिक लाभान्वित

कर्णाली जेसीज कालीकोटद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सयभन्दा बढी नागरिक लाभान्वित

मान्मा कालीकोट १५ असार। कर्णाली जेसीज कालीकोट (वर्ष २०२६) को आयोजनामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ नागरिक, समृद्ध समाज” भन्ने मूल नाराका साथ समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट २ सय जनाभन्दा बढी स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिविरमा नागरिकहरूको रक्तचाप (ब्लड प्रेसर), रक्त समूह (ब्लड ग्रुप) तथा ब्लड सुगरको निःशुल्क परीक्षण गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।

महासचिव नन्दबहादुर मल्लका अनुसार शिविरमा कुल सेवा लिनेहरूमध्ये २०० जनाको रक्तचाप, १०९ जनाको रक्त समूह र ९१ जनाको ब्लड सुगर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २५ जनामा उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) तथा ३५ जनामा ब्लड सुगरको मात्रा सामान्यभन्दा बढी पाइएकाले उनीहरूलाई थप उपचार र नियमित जाँचका लागि परामर्श दिइएको मल्लले जानकारी दिनुभयो।

कार्यक्रमको समापन सत्र कर्णाली जेसीज कालीकोट वर्ष २०२६ का अध्यक्ष जेसी प्रभुराम पाण्डेको अध्यक्षता तथा वर्ष २०२० का अध्यक्ष सबिन कुमार बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन कार्यकारी उपाध्यक्ष भक्त बहादुर शाहीले गर्नुभएको थियो भने सञ्चालन महासचिव नन्दबहादुर मल्लले गर्नुभएको हो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सबिन कुमार बिष्टले यस्ता शिविरले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन र समयमै रोग पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यस्तै, सभाध्यक्ष प्रभुराम पाण्डेले परीक्षणका क्रममा देखिएको उच्च रक्तचाप र सुगरको तथ्यांक चिन्ताजनक रहेको उल्लेख गर्दै यसले नियमित स्वास्थ्य परीक्षणको महत्त्वलाई पुष्टि गरेको र आगामी दिनमा पनि जेसीजले यस्ता जनहितकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम संयोजक भक्त बहादुर शाहीले नागरिकको उत्साहजनक सहभागिताले शिविर अपेक्षाभन्दा बढी सफल भएको बताउनुभयो।

यस स्वास्थ्य शिविरलाई सफल बनाउन सामुदायिक फार्मेसी जिरोपोइन्ट तथा डिआर हेल्थ कर्णाली हस्पिटलले आवश्यक स्वास्थ्य सामग्री र प्राविधिक सहयोग उपलब्ध गराएका थिए। आयोजक कर्णाली जेसीजले सहयोगी संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीहरूप्रति विशेष आभार प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार