जुम्ला, ६ असार । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको २७ औँ वार्षिकोत्सवको अवसर पारेर जुम्लाको खलङ्गामा जलवायु परिवर्तन र युवाको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रम सुरु भएको छ।
“युवा र जलवायु परिवर्तन” (Youth and Climate Change) केन्द्रित सो राउण्डटेबल संवादमा जुम्लाका विभिन्न स्थानीय तह (पालिका) बाट आएका करिब ६० जना उत्साही युवाहरूको सक्रिय सहभागिता रहेको छ।
जलवायु परिवर्तनका कारण बढ्दै गएका असर र चुनौतीहरूलाई सम्बोधन गर्न युवाहरूका दृष्टिकोण, अनुभव र नवीन विचारहरू आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। संवादले स्थानीय स्तरमा जलवायु संकटविरुद्ध आवाज उठाउन र समाधानका उपाय खोज्न युवाहरूलाई एउटा बलियो साझा मञ्च प्रदान गरेको आयाेजक संस्था किर्डाक नेपालका निर्देशक गाेविन्द बहादुर शाहीले बताउनु भयाे।
अन्तरक्रियाका क्रममा सहभागी युवाहरूले वातावरणीय संरक्षण, जलवायु अनुकूलन (क्लाइमेट रेजिलेन्स) र जलवायु संकटको समाधानमा युवा नेतृत्वको भूमिकाका विषयमा सघन छलफल गरिरहेका छन्। कर्णालीका युवाहरूको यो सक्रियताले आगामी दिनमा दिगो भविष्य र जलवायु अनुकूलनका स्थानीय प्रयासहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।