Loading

कर्णालीमा बालविवाह, सडक दुर्घटना र खाद्यान्न अभावको जोखिम: मानव अधिकार आयोगको ध्यानाकर्षण

कर्णालीमा बालविवाह, सडक दुर्घटना र खाद्यान्न अभावको जोखिम: मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ, ४ असार । राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेशको समग्र मानव अधिकार अवस्था, नागरिकका समस्या र चुनौतीहरूका बारेमा एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई विशेष निर्देशन दिएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले जेठ २४ गतेदेखि असार ३ गतेसम्म कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालीकोट र मुगु जिल्लामा गरेको स्थलगत अनुगमन तथा सरोकारवालाहरूसँगको छलफलका आधारमा यो प्रतिवेदन र निर्देशन सार्वजनिक गरिएको हो। अनुगमन टोलीमा आयोगका सचिव मुरारिप्रसाद खरेल र सहसचिव सम्झना शर्मासहितका कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो।

आयोगको स्थलगत अनुगमनका क्रममा कर्णाली प्रदेशमा परम्परागत हानिकारक अभ्यास र अन्धविश्वासका कारण महिला तथा बालबालिकाहरूको जीवन अझै पनि जोखिममा रहेको पाइएको छ। ग्रामीण क्षेत्रका धेरै महिलाहरू आफ्ना हक अधिकार र सरकारी सेवा सुविधाहरूबारे अनभिज्ञ रहँदा अवसरहरूबाट बञ्चित भएका छन् भने उनीहरूमा श्रमको भार बढी र आर्थिक-सामाजिक सशक्तीकरण कमजोर देखिएको छ। यसैगरी बालविवाह, बहुविवाह, महिनावारी विभेद (छाउपडी), घरेलु हिंसा, बलात्कार, बालयौन दुर्व्यवहार, र मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्याका घटनाहरू बढ्दै गएको चिन्ताजनक तथ्य अनुगमनमा फेला परेको छ।

शिक्षा र आधारभूत सेवातर्फ बालबालिकाहरूमा पोषणयुक्त खानाको अभाव, विद्यालय छाड्ने प्रवृत्ति, र भौतिक संरचनाको अभावमा खुला आकाशमुनि बसेर पढ्नुपर्ने बाध्यता अझै कायम छ। कतिपय गाउँपालिकाहरूमा खाद्यान्न अभावको समस्या छ भने केही स्थानमा नागरिकता लिनका लागि दुई दिनसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ। यसका साथै हिरासत तथा कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दीहरू राखिएको पाइएको छ। भौगालिक विकटता र कमजोर सडक पूर्वाधारका कारण यातायात असहज हुनुका साथै दैनिक हुने सडक दुर्घटनाले धेरै नागरिकले ज्यान गुमाउनु परेको छ। राज्यका महत्वपूर्ण निकायमा रहेका केही कर्मचारी तथा पदाधिकारीहरूमा समेत मानव अधिकारप्रतिको बुझाई र दृष्टिकोणमा स्पष्टता नदेखिएको र कानुन कार्यान्वयन गर्ने निकायहरूमा भौतिक पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाह प्रभावित भएको आयोगले जनाएको छ।

विज्ञप्ति मार्फत आयोगले कर्णालीका नागरिकको मानव अधिकार संरक्षण र संवर्द्धनमा विशेष जोड दिन नेपाल सरकारलाई आग्रह गरेको छ। नागरिकको आवतजावत र जीविकोपार्जनलाई सहज बनाउन कर्णाली राजमार्गको तत्काल स्तरोन्नति गर्न, दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सक उपलब्ध गराउन, र औषधि एवं खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीहरूको पर्याप्तता र गुणस्तरीय व्यवस्थापन गर्न आयोगले निर्देशन दिएको छ।

यसैगरी, रोजगारीका लागि भारत जाने नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न, र सरकारी अनुदान तथा सुविधाहरूमा सबैको पहुँच पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइएको छ। कानुन कार्यान्वयन गर्ने निकायहरूको भौतिक पूर्वाधार सुदृढ गर्दै पर्याप्त जनशक्ति व्यवस्थापन गर्न र सङ्घ, प्रदेश तथा स्थानीय सरकारबीच प्रभावकारी समन्वय गरी भौगोलिक अवस्था अनुसारका विशेष नीति र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न आयोगका सहायक प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल सरकारलाई निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार