कालीकाेट १ असार । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश सरकारले आजै आफ्नो बजेट सार्वजनिक गरेका छन्। प्रदेशहरूले विकास निर्माण, सामाजिक सुरक्षा र आर्थिक सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै आ–आफ्नो बजेट प्रस्तुत गरेका हुन्। सभामा प्रस्तुत गरेकाे प्रदेशअनुसार बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
यसमा भौतिक पूर्वाधारतर्फ मात्र साढे २५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। मधेश प्रदेश सरकारले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता दिँदै १२ अर्ब १ करोड रुपैयाँ छुट्याइएको छ। साथै, मन्त्रिपरिषद्लाई ९ सदस्यीय बनाउने र अनावश्यक खर्च कटौती गर्ने नीति लिइएको छ।
कोशी प्रदेश सरकारले ४० अर्ब ४४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यहाँ कृषि, रैथाने बाली र पशुपालन क्षेत्रका लागि १ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ। गण्डकी प्रदेश सरकारले करिब ३३ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
यसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कर्णाली प्रदेश सरकारले बजेट मन्त्रिपरिषद्बाट स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने प्रक्रिया अघि बढाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आफ्नो बजेट सार्वजनिक गर्ने प्रक्रिया अघि बढाएको छ।
सातवटै प्रदेशको बजेटमा पूर्वाधार विकास, स्वास्थ्य सेवाको विस्तार र कृषि क्षेत्रको आधुनिकीकरणलाई प्रमुख प्राथमिकता दिइएको छ। आर्थिक अनुशासन कायम राख्दै प्रदेशहरूको समग्र विकासमा यी बजेटहरू कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।