अछाम १ असार । पञ्चदेवल विनायक नगरपालिकाकाे आयोजनामा ‘नेतृत्व विकास तथा महिनावारी स्वच्छता सम्बन्धी तालिम’ सम्पन्न भएको छ। तालिममा सहभागी नगरका अगुवा महिलाहरूसँग आफ्नो अनुभव, सिकाइ र विचारहरू साझा गर्दै प्रशिक्षक तथा अभियान्ता पशुपती कुँवरले महिलाको नेतृत्व र स्वास्थ्य चेतनाको सम्बन्धमा सहजीकरण गर्नुभएको छ। तालिममा महिलाहरूको क्षमता अभिवृद्धि र नेतृत्वदायी भूमिकाका विविध आयामबारे व्यावहारिक अनुभवहरू राखिएको थियो।
त्यस्तै महिनावारीलाई समाजमा रहेको अन्धविश्वासबाट मुक्त गरी वैज्ञानिक र स्वच्छ बनाउने उपायहरूमाथि गहन छलफल गरिएको छ । आत्मविश्वास, सीप र स्वच्छताको संयोजनबाट मात्र समाजमा सकारात्मक परिवर्तन र दिगो विकास सम्भव हुने कुरामा जोड दिइएकाे प्रशिक्षक तथा सामाजिक अभियान्ता कुवरले बताउनु भयाे।
कार्यक्रमको अन्त्यमा प्रशिक्षक कुँवरले नगर प्रमुखज्यू लगायत सम्पूर्ण नगरपालिका टिमलाई आफूलाई यस्तो महत्वपूर्ण अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। नगरको यस्तो सक्रियताले महिलाहरूको सशक्तीकरणमा थप टेवा पुग्ने उहाँको विश्वास छ।