Loading

स्थानीय तहमा हस्तान्तरित र निर्माणाधीन आयोजनाको कार्यप्रगति विवरण बुझाउन सरकारको परिपत्र

स्थानीय तहमा हस्तान्तरित र निर्माणाधीन आयोजनाको कार्यप्रगति विवरण बुझाउन सरकारको परिपत्र

काठमाडौँ २८ जेष्ठ। सरकारले देशका सबै गाउँपालिका र नगरपालिकाहरूलाई आफूकहाँ हस्तान्तरण भएका तथा हाल निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार परियोजनाहरूको कार्यप्रगति विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जेठ २७ गते देशैभरका ७५३ वटै स्थानीय तहलाई एक परिपत्र जारी गर्दै यस्तो विवरण माग गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास शाखाको जेठ २१ गतेको पत्र र निर्णयअनुसार मन्त्रालयले यो ताकेता गरेको हो । स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न भई हस्तान्तरण भएका, पालिका आफैँले जिम्मेवारी लिएका तथा चालु आर्थिक वर्ष २०८२/८३ मा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूको विवरण बुझाउनुपर्नेछ । विशेष गरी ती भौतिक पूर्वाधारहरूको गुणस्तर सुनिश्चित गर्ने तथा गराउने सन्दर्भमा हालसम्म के-कस्तो कार्यप्रगति भएको छ भन्नेबारे स्पष्ट पार्न भनिएको छ ।

मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीद्वारा हस्ताक्षरित परिपत्रमा जनाइएअनुसार स्थानीय तहहरूबाट हालसम्म आवश्यक कार्यप्रगति विवरण प्राप्त हुन नसकेकाले केन्द्र र स्थानीय तहबीच आवश्यक समन्वय र सहजीकरणका लागि यो कदम चालिएको हो । सरकारले तोकिएका आयोजनाहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भौतिक पूर्वाधार विकास शाखामा उपलब्ध गराउन निर्देश गरेको छ । यो निर्णयलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयका साथै आफ्नै सूचना प्रविधि शाखालाई समेत दिँदै वेबसाइटमा अपलोड गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार