कालीकोट, २३ जेष्ठ । कालीकोट जिल्लामा आज एक शंकास्पद वस्तु प्रेसर कुकर बमको रूपमा फेला परेको छ। खाँडाचक्र नगरपालिका–१ स्थित पुरानो जिल्ला प्रहरी कार्यालयको जग्गामा कालो प्लास्टिकमा बेरिएको अवस्थामा उक्त वस्तु फेला परेको हो।
शनिबार बिहान १२ बजे स्थानीय लक्ष्मण रोकायाले शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गर्नुभएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डिएसपी) हिमबहादुर खत्रीका अनुसार खबर प्राप्त हुनासाथ सुरक्षा सतर्कता अपनाइएको थियो।
घटनास्थलमा पुगेको नेपाली सेनाको देवी बक्स गुल्मले थप खोजतलास गर्दा उक्त वस्तु प्रेसर कुकर बम भएको पुष्टि गरेको थियो। देवी बक्स गुल्म कालीकोटका सह–सेनानी सन्दीप पण्डितले सो शंकास्पद वस्तु बम भएको पुष्टि गर्दै नेपाली सेनाको टोलीद्वारा सुरक्षित रूपमा डिस्पोज गरिएको जानकारी दिनुभयो।
अहिले उक्त क्षेत्र सुरक्षित रहेको र थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ।