कालीकोट १४ जेष्ठ । शैक्षिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ कालीकोट जिल्लाको शान्नित्रिवेणी र नरहरीनाथ गाउँपालिकामा एक नयाँ शैक्षिक सुधार परियोजनाको औपचारिक सुरुवात गरिएको छ। सदरमुकाम मान्ममा बुधवार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त परियोजनाको सुभारम्भ गरिएको हो।
जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतको प्रमुख आतिथ्यता तथा प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल र शान्नित्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहको विशेष उपस्थिति रहेको थियो।
किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लका अनुसार, यो परियोजना दुवै पालिकाबाट छनौट गरिएका १२ वटा विद्यालयमा कार्यान्वयन गरिनेछ। किर्डाक नेपालले कर्णालीको विकासका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अध्यक्ष मल्लले बताउनु भयाे । यस परियोजनामार्फत स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने समेत मल्लले प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले शिक्षा सुधारका लागि भौतिक संरचनाभन्दा पनि सकारात्मक चेतनासहितको शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले स्थानीय सरकारको साझेदारी र सहकार्यले मात्र यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। त्यस्तै, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले कालीकोटमा शैक्षिक क्षेत्र कमजोर हुनुको मुख्य कारण स्पष्ट शैक्षिक नीति र अनुशासनको अभाव रहेको औंल्याउनुभयो।
जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले संघसंस्थाले गरेका राम्रा कामको सिको सरकारले गर्नुपर्ने र कार्यक्रमको दिगोपनाका लागि स्थानीय सरकारले त्यसको संरक्षण र निरन्तरतामा जोड दिनुपर्ने बताउनुभयो। नरहरीनाथ गाउँपालिकाका अध्यक्ष विष्ट र शान्नित्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सिंहले शिक्षा क्षेत्रमा प्लान नेपालको लगानीको प्रशंसा गर्दै पालिकाको तर्फबाट बजेट साझेदारीसहित आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेका अनुसार, १८ महिनासम्म सञ्चालन हुने यस परियोजनाले इसिडी (ECD) देखि कक्षा आठसम्मका छनौट गरिएका विद्यालयहरूमा कक्षा व्यवस्थापन, अपांगमैत्री भवन र शौचालय निर्माण लगायतका कार्यहरू गर्नेछ।