Loading

नागरिकको जीवनस्तर सुधार र सुशासन सरकारको मुख्य प्राथमिकता हाे-प्रधानमन्त्री शाह

नागरिकको जीवनस्तर सुधार र सुशासन सरकारको मुख्य प्राथमिकता हाे-प्रधानमन्त्री शाह

काठमाडौँ १२ जेष्ठ। प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) का राजदूत तथा सदस्य राष्ट्रका कूटनीतिज्ञहरूसँगको संयुक्त भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचनको परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए पनि राज्यको नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुनेछ।”

लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री शाहले लगानीमैत्री वातावरण सिर्जना गर्न प्रक्रियाहरूलाई थप सहज बनाउने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति लिइने जानकारी दिनुभयो।

नेपालको विदेश नीतिबारे स्पष्ट पार्दै उहाँले छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तमा आधारित हुने बताउनुभयो। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल इच्छुक रहेको उहाँको भनाइ छ।

यसैगरी, विश्वका विभिन्न भागमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनको माध्यमबाट शान्ति स्थापनामा जोड दिनुभयो।

भेटका अवसरमा उपस्थित कूटनीतिज्ञहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरेका छन्। उहाँहरूले सुशासन र आर्थिक समृद्धिको जनादेशसहित नेतृत्वमा आउनुभएका प्रधानमन्त्री शाहलाई बधाई दिँदै आर्थिक विकासका विविध क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटमा सहभागीहरूले नेपालको स्थिरता र विकासका लागि निरन्तर सहयोग रहने विश्वास दिलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार