कालीकोट ६ जेष्ठ। कालीकोट जिल्लाका पाँचवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको नेतृत्व कार्यसम्पादन परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई थप सुदृढ र जवाफदेही बनाउने उद्देश्यका साथ यो विशेष परीक्षण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कालीकाेटका इकाइ प्रमुख हर्ष प्रसाद चाैलागाईले बताउनु भयाे ।
यस प्रक्रिया अन्तर्गत जिल्लाको खाँडाचक्र नगरपालिकाका ३ वटा र शुभकालिका गाउँपालिकाका २ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको नेतृत्व क्षमताको मसिनो गरी कार्यसम्पादन परीक्षण गरिएको छ।
यो महत्वपूर्ण परीक्षण कार्यक्रम शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO), सानोठिमी भक्तपुरको प्रत्यक्ष आयोजनामा सम्पन्न भएको हो। परीक्षण कार्यलाई निष्पक्ष र वस्तुनिष्ठ बनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइ कालीकोट र सम्बन्धित स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाहरूले प्राविधिक तथा प्रशासनिक सहजीकरण गरेका थिए।
केन्द्रबाट खटिएका विज्ञ परीक्षकहरूको टोलीले विद्यालयमै पुगेर पूर्वनिर्धारित सूचकहरूका आधारमा प्रधानाध्यापकहरूको नेतृत्व कला, आर्थिक पारदर्शीता, शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिका र सामुदायिक समन्वयको परीक्षण गरेका थिए।
विज्ञ टोलीले परीक्षण कार्य सम्पन्न गरेपश्चात् प्रत्येक विद्यालयको छुट्टाछुट्टै अङ्क र सबल एवं सुधार गर्नुपर्ने पक्षहरू समेटिएको विस्तृत प्रतिवेदन तयार पारेको छ। उक्त आधिकारिक प्रतिवेदन सम्बन्धित विद्यालय र सम्बन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखामा आवश्यक कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ।
प्राप्त नतिजा अनुसार विधागत सूचकहरूमा सबैभन्दा बढी अङ्क प्राप्त गरी खाँडाचक्र नगरपालिकाको पञ्चदेव माध्यमिक विद्यालय, मान्म जिल्लामै पहिलो स्थानमा रहन सफल भएको छ। उता, सबै सूचकहरूमा सन्तोषजनक अङ्क प्राप्त गर्न नसकी शुभकालिका गाउँपालिकाको दाहाल माध्यमिक विद्यालय, सुकाटिया भने अन्तिम स्थानमा परेको छ।
निष्कर्ष तथा आगामी अपेक्षा: यो कार्यसम्पादन परीक्षणले कालीकोटका सामुदायिक विद्यालयहरूको वास्तविक तस्बिर र नेतृत्वको क्षमतालाई उजागर गरिदिएको छ। प्रतिवेदनले औँल्याएका कमजोरीहरूलाई सुधार्दै आगामी वर्षहरूमा जिल्लाका प्रधानाध्यापकहरूको नेतृत्व क्षमतामा थप अभिवृद्धि हुने र यसले समग्र कर्णालीको शैक्षिक गुणस्तर सुधार्न मार्गदर्शन गर्ने विश्वास लिइएको छ।