Loading

कर्णालीको माटोबाट सङ्गीत आकाशमा उदाएका ४ नक्षत्र: भोक र सामाजिक कूरीतिलाई परास्त गर्दै बने देउडाका संवाहक

कर्णालीको माटोबाट सङ्गीत आकाशमा उदाएका ४ नक्षत्र: भोक र सामाजिक कूरीतिलाई परास्त गर्दै बने देउडाका संवाहक

कालीकाेट ४ जेष्ठ । कुनै समय “छोरी मान्छेले नाच्नु-गाउनु हुन्न” भन्दै चौतर्फी आलोचना खेपेका कर्णाली र सुदूरपश्चिमका ग्रामीण बस्तीहरू अहिले देशकै लोक-संस्कृतिको मूल आधार बन्न थालेका छन्। कालीकोट र दैलेखको विकट भूगोलबाट उदायका चार जना चेलीहरू- इब्सल सन्ज्याल, यशोदा देवकोटा, संगीता बडुवाल र विपना सिंहले काठमाडौँको संघर्षपूर्ण मैदानमा आफूलाई बलियो रूपमा स्थापित गराएका छन्।

कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ६, नानीकोटको दुर्गम बस्तीमा जन्मिएकी इब्सल सन्ज्याल सानै उमेरदेखि विद्रोही चेत भएकी गायिका हुन्। समाजमा व्याप्त छाउपडी जस्तो अमानवीय प्रथा र “छोरी मान्छेले नाच्नु-गाउनु हुन्न” भन्ने संकुचित सामाजिक बन्देज विरुद्ध उनले ११ वर्षकै उमेरदेखि गाउँमै विद्रोहको बिगुल फुकेकी थिइन्। कडा सामाजिक आलोचना र लाञ्छनाको सामना गर्दै १७ वर्षको उमेरमा आफ्नो कलाको सपना पूरा गर्न घर छोडेकी उनले ‘इन्द्रेणी’ कार्यक्रममा चीज गुरुङसँग पहिलो लाइभ दोहोरी गाएर काठमाडौँमा आफ्नो बलियो उपस्थिति जनाइन्। हालसम्म ६०० भन्दा बढी रेकर्डेड गीत, लाइभ देउडा र दोहोरी गाइकेकी इब्सलका ‘झुपडी’, ‘मुटुको टुक्रा’, ‘झुम्के बुलाकी’ लगायतका सिर्जनाहरू स्रोतामाझ निकै लोकप्रिय छन्।

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ३ मा एउटा विपन्न परिवारमा जन्मिएकी २२ वर्षीया यशोदा देवकोटाको कला यात्रा आँसु र कठोर संघर्षले लेखिएको छ। गायनको सपना बोकेर काठमाडौँ छिरेका सुरुआती दिनमा उनले चरम आर्थिक अभाव झेलिन्। गोजीमा पैसा नहुँदा कोठामा ग्यास र चुल्होसमेत किन्न नसकेर कयौँ दिन दोहोरी साँझमा बेलुका खाएको भरमा भोकभोकै बस्नुपरेको दर्दनाक विगत उनीसँग छ। तर, आफ्नो कलाप्रतिको निष्ठाकै कारण उनले हार मानिनन्। मौलिक परम्परागत पहिरन (पोतेको माला, चाँदीको बाला, धोती र चोलो) मा सजिएर गाउने रैथाने पहिचान बनाएकी यशोदाले हालसम्म १,००० भन्दा बढी लाइभ देउडा गाएर कीर्तिमान स्थापित गरिसकेकी छिन्।

दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ३ की संगीता बडुवाल कर्णालीको मौलिक भाषा र भेषभूषालाई नयाँ पुस्तामाझ जोड्ने एउटा दह्रो कडी हुन्। बाल्यकालमै बुबाको छहारी गुमाएकी संगीताले चरम आर्थिक संकट र पारिवारिक कठिनाइको सामना गर्दै आमाको प्रेरणा र दृढ इच्छाशक्तिका बलमा काठमाडौँसम्मको कला यात्रा तय गरिन्। विगत ७ वर्षदेखि देउडा गायनमा निरन्तर सक्रिय रहँदै उनले ५० भन्दा बढी रेकर्डेड गीत र ५०० भन्दा बढी लाइभ देउडा गीतहरू प्रस्तुत गरिसकेकी छिन्। आफ्नो संस्कृति र रैथाने सभ्यता जोगाउनुलाई नै आफ्नो मुख्य धर्म मान्ने संगीताका ‘साली भेना’, ‘नबोले पीर लाक्क्या’, ‘हाम्टा सिरानी’ लगायतका गीतहरूले मौलिकताको सुगन्ध छरिरहेका छन्।

समाजको संकुचित सोच, पूर्वाग्रह र लैङ्गिक असमानतालाई आफ्नो आत्मविश्वासको बलमा परास्त गर्ने कर्णालीकी अर्की उदीयमान तारा हुन् विपना सिंह। देउडा, ठाडी भाका र लोकदोहोरी दुवै विधामा उत्तिकै अब्बल समानान्तर पकड भएकी विपनाको जीवनको लक्ष्य भने निकै फरक र अनुकरणीय छ। उनी गायनसँगै उच्च शिक्षामा कानुन (Law) विषयको अध्ययन गरिरहेकी छिन्। भविष्यमा एक कुशल वकिल बनेर समाजमा व्याप्त महिला हिंसा, लैङ्गिक विभेद र कूरीतिलाई कानुनी रूपमै जरैदेखि उखेल्ने दरिलो संकल्प उनले बोकेकी छिन्। उनको लागि कला केवल मनोरञ्जन होइन, बरु समाज रूपान्तरणको एउटा सशक्त हतियार हो।

विगतमा राज्यको नजरबाट टाढा र मूलधारको सञ्चारमाध्यममा उपेक्षा गरिएको कर्णालीको लोक-साहित्य र कलालाई यतिबेला यी ४ चेलीहरूले काठमाडौँको मञ्चमा मात्र होइन, विश्वभर छरिएका नेपालीमाझ पुर्‍याएर रैथाने संस्कृतिको पुनर्जागरण गराएका छन्। यदि आँट र सही प्रतिभा छ भने भूगोलको विकटता वा समाजको संकुचित घेराले कलाको उडानलाई कहिल्यै पनि रोक्न सक्दैन भन्ने कुरा यिनीहरूले प्रमाणित गरिदिएका छन्।

स्रोतको सन्दर्भ: कर्णालीका यी चार विद्रोही र सफल चेलीहरूको यो प्रेरणादायी र गौरवपूर्ण संघर्षको नालिबेली हामीले कान्तिपुर कोसेलीको ‘दूरका सितारा’ विशेष संस्करण बाट लिएका हाै‌-सम्पादक।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार