Loading

मान्म बजारको सडक पार्किङ हटाइयो: अब ताडी बसपार्कबाटै सुचारु भयाे यातायात सेवा

मान्म बजारको सडक पार्किङ हटाइयो: अब ताडी बसपार्कबाटै सुचारु भयाे यातायात सेवा

कालीकोट २८ बैसाख । कालीकोटको सदरमुकाम मान्म बजारको अव्यवस्थित यातायात र सडक पार्किङको समस्या समाधान गर्न स्थानीय प्रशासनले सक्रियता देखाएको छ। २०८३ वैशाख २७ गते आइतबार देखि लागू हुने गरी सडकमा असुरक्षित रूपमा पार्किङ गरिने सवारी साधनहरूलाई हटाई ताडीस्थित बसपार्कबाट सेवा सञ्चालन गर्न सुरु गरिएको कालीकाेटका प्रमुख जिल्ला अधिकारी गाेकर्णराज सुयलले बताउनु भयाे।

सडकमा जथाभाबी पार्किङ गर्दा पैदलयात्रीलाई सास्ती हुनुका साथै दुर्घटनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो संयुक्त अभियान थालेका हुन्। यस कार्यमा यातायात व्यवसायी र स्थानीय बासिन्दाहरूले समेत उत्साहजनक सहयोग र ऐक्यवद्धता जनाएकाे जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी हिम बहादुर खत्रीले बताउनु भयाे।

अबदेखि कालीकोटबाट बाहिरिने र भित्रिने सम्पूर्ण सवारी साधनहरूले अनिवार्य रूपमा ताडी बसपार्कको प्रयोग गर्नुपर्नेछ। सडक किनारमा सवारी रोक्ने र पार्किङ गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो व्यवस्थासँगै मान्म बजार क्षेत्र अब खुला र व्यवस्थित देखिन थालेको स्थानीय खगेन्द्र पाण्डेले बताए ।

सडक पार्किङ हटाइएपछि ट्राफिक व्यवस्थापन सहज हुने र बजारको सौन्दर्यकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। प्रशासनले यो नियम उल्लंघन गरी पुनः सडकमा पार्किङ गर्ने सवारीलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

यातायात व्यवसायीहरूले पनि बसपार्कबाटै सेवा सञ्चालन हुँदा यात्रुहरूलाई एकै ठाउँबाट सेवा लिन सहज हुने र सवारीको सुरक्षा समेत सुनिश्चित हुने बताएका छन्। मान्म बासीले लामो समयदेखि झेल्दै आएको बजारको साँगुरो सडक र पार्किङको झन्झटबाट अब राहत मिल्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार