Loading

कालीकोट अन्तर विद्यालय क्रिकेटको उपाधि कालिका माविलाई, उपविजेता चुलिमालिका

कालीकोट अन्तर विद्यालय क्रिकेटको उपाधि कालिका माविलाई, उपविजेता चुलिमालिका

कालीकोट २६ वैशाख । कालीकोट जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भएको ‘कालीकोट जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट छनोट प्रतियोगिता’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ । खाँडाचक्र नगरपालिका ५ राताडावमा भएको फाइनल प्रतिस्पर्धामा खाँडाचक्र नगरपालिका–७, पिलीस्थित कालिका माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।

गत वैशाख २३ गतेदेखि सुरु भएको यस प्रतियोगितामा जिल्लाका विभिन्न ७ वटा विद्यालयका टिमहरूले सहभागिता जनाएका थिए । कडा प्रतिस्पर्धाका बीच कालिका मावि पिलीले प्रथम स्थान हासिल गर्दै विजेता बन्न सफल भयो भने खाँडाचक्र नगरपालिका–५, घोडेनास्थित चुलिमालिका माध्यमिक विद्यालय उपविजेतामा चित्त बुझाउन सफल भएको छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा पुरस्कृत समेत गरिएको छ । जसअन्तर्गत कालिका मावि पिलीका लोकेश सिम्खाडा प्रतियोगिताभरकै सर्वाधिक विकेट लिने खेलाडी बन्दै ‘बेस्ट बलर’ घोषित भए । त्यसैगरी, ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै चुलिमालिका मावि घोडेनाका प्रकाश खत्रीले सर्वाधिक रन बनाएर ‘बेस्ट ब्याट्सम्यान’को उपाधि चुमेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को समन्वय र मान्म बजार क्रिकेट समूहको सहयोगमा सम्पन्न उक्त खेलले जिल्लामा क्रिकेटको जग बलियो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । समापन समारोहमा आयोजक कालीकोट जिल्ला क्रिकेट संघले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै विद्यालय, खेल प्रेमी र सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।

जिल्लाका ग्रामीण भेगमा रहेका विद्यालयहरूबाट प्रतिभावान खेलाडीहरू छनोट गरी क्रिकेटको विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको कालीकोट जिल्ला क्रिकेट संघका सदस्य पवन बमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार