Loading

कर्णालीमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रहरी उपरीक्षक रिजालको निर्देशन

कर्णालीमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रहरी उपरीक्षक रिजालको निर्देशन

सुर्खेत २६ वैशाख । कर्णाली प्रदेशको राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले विशेष ब्रिफिङ तथा निर्देशन कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द प्रसाद रिजालले कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा कार्यरत अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको हो।

कार्यक्रममा एसपी रिजालले समग्र कर्णाली प्रदेशको सवारी दुर्घटनाको वर्तमान अवस्था, नागरिकमैत्री ट्राफिक सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीले निर्वाह गरिरहेको भूमिकाबारे विस्तृत समीक्षा गर्नुभएको थियो। उहाँले सडकमा खटिने कर्मचारीहरूलाई अनुशासित, शिष्ट र सेवामुखी बन्न विशेष आग्रह गर्नुभयो।

प्रहरी उपरीक्षक रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै निम्न बुँदाहरूमा कडाइका साथ लाग्न निर्देशन दिनुभयो:

सवारी दुर्घटना न्यूनीकरण: सडक दुर्घटनाको जोखिम बढ्दै गएकाले ट्राफिक सचेतनाका कार्यक्रमहरूलाई गाउँ-गाउँ र टोल-टोलसम्म पुर्‍याउनुपर्ने।

सरकारी सवारीको निगरानी: सार्वजनिक बिदाका दिन बिना अनुमति (पास) चलाइएका र प्रयोजन विपरीत सञ्चालनमा रहेका सरकारी नम्बर प्लेटका सवारी साधनहरूलाई नियमानुसार कडाइका साथ कारबाही गर्ने।

नागरिकमैत्री व्यवहार: सडकमा खटिने ट्राफिक प्रहरीले आम सर्वसाधारणसँग गर्ने व्यवहार शिष्ट र मर्यादित हुनुपर्ने।

समस्याको प्राथमिकीकरण: आफ्नो कार्यक्षेत्रमा रहेका ट्राफिक चुनौतीहरूको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्न जोड दिने।

बढ्दो सवारी चापलाई मध्यनजर गर्दै इमान्दारीता र उत्तरदायित्वका साथ सडकमा खटिन SP रिजालले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो। कार्यक्रमले प्रदेशको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीहरूलाई कम गर्न र सडक सुरक्षालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार