काठमाडौँ, २२ वैशाख ।सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम २०८३ साल वैशाख २२ गते मंगलबारका दिन उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संवैधानिक निकायहरूमा हुने नियुक्ति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले यो अध्यादेश ल्याएको बुझिएको छ। यसले राज्यका महत्वपूर्ण संवैधानिक अङ्गहरूमा रिक्त रहेका पदहरूको पूर्ति र कार्यसम्पादनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
वर्तमान सरकारले सुशासन र प्रणाली सुधारका लागि पछिल्लो समय एकपछि अर्को गर्दै महत्वपूर्ण अध्यादेशहरू जारी गरिरहेको छ। यसअघि जारी भएका मुख्य अध्यादेशहरू र तिनका प्रावधानहरू निम्न रहेका छन्:
सार्वजनिक पदाधिकारीको पदमुक्ति अध्यादेश: यस अध्यादेशमार्फत २०८२ चैत १२ गतेभन्दा अगाडि नियुक्त भएका वायुसेवा निगम, विद्युत् प्राधिकरण र विभिन्न विश्वविद्यालयका सयौँ राजनीतिक नियुक्तिहरू खारेज गरी पदाधिकारीहरूलाई स्वतः पदमुक्त गरिएको छ।
सार्वजनिक खरिद (संशोधन) अध्यादेश: ठेक्का अलपत्र पार्ने ठेकेदारको जायजेथाबाटै थप लागत असुल गर्ने र अनलाइनमार्फत ‘रिभर्स अक्सन’ गरी प्रतिस्पर्धा गराउने कडा व्यवस्था गरिएको छ।
सहकारी (संशोधन) अध्यादेश: बचतकर्ताको पैसा फिर्ता गर्न ‘चक्रीय राहत कोष’ स्थापना गर्ने र बचत हिनामिना गर्ने सञ्चालकका परिवार तथा नातेदारको समेत सम्पत्ति जफत गर्ने प्रावधान राखिएको छ।
सम्पत्ति शुद्धीकरण अध्यादेश: तस्करी, कर छली र सेयर बजारको भित्री कारोबारलाई समेत शुद्धीकरणको दायरामा ल्याई विशेष अदालतमा मुद्दा चलाउने व्यवस्था गरिएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्यादेश: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित ६ वटा प्रतिष्ठानका पदाधिकारीको पदावधि र नियुक्ति सम्बन्धी साविकको व्यवस्थामा व्यापक फेरबदल गरी दलीय हस्तक्षेप कम गर्ने प्रयास गरिएको छ।
भूमिसम्बन्धी ऐन संशोधन: नदीकिनार र सरकारी जग्गा अतिक्रमण हटाउन बाधक रहेका ऐनका दफाहरू खारेज गरी वास्तविक भूमिहीनलाई आवास सुनिश्चित गर्न डिजिटल लगत सङ्कलन सुरु गरिएको छ।
यी सबै कानुनी र प्रशासनिक कदमहरूले मुलुकमा वर्षौँदेखि जरा गाडेर बसेको बेथिति अन्त्य गरी सुशासन स्थापना गर्ने सरकारको दृढ संकल्पलाई थप बल पुर्याएको देखिन्छ।