Loading

थवाङ जिप दुर्घटना अपडेट: मृतकको संख्या २० पुग्यो, कठिन भूगोलका कारण शव निकाल्न सकस

थवाङ जिप दुर्घटना अपडेट: मृतकको संख्या २० पुग्यो, कठिन भूगोलका कारण शव निकाल्न सकस

मान्म (कालीकोट), १८ वैशाख । रोल्पाको थवाङस्थित जलजलामा बिहीबार भएको भीषण जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेका एक जना घाइते भने रुकुम पूर्व जिल्ला अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन्।

मृतकको पहिचानमा समस्या

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेहरूमा १२ महिला, ४ पुरुष र ४ बालक रहेका छन्। यद्यपि, मृतकहरूको व्यक्तिगत पहिचान (सनाखत) भने अझै हुन सकेको छैन। रुकुमकोटबाट जलजलातर्फ एकैसाथ २–३ वटा गाडीहरू गएकाले कुन गाडीमा को चढेका थिए भन्ने स्पष्ट नहुँदा पहिचानमा समस्या आएको रुकुम पूर्वका डीएसपी खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ। प्रहरीले यतिबेला परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।

कठिन भूगोल र उद्धारको अवस्था

जिप सडकबाट झण्डै ८ सय मिटर तल खोंचमा खसेकाले शवहरू निकाल्न निकै कठिनाइ भइरहेको छ। घटनास्थलमा रहनुभएका रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमका अनुसार खोंचमा जान सहज नभएकाले सुरक्षाकर्मीहरूले बाटो बनाउँदै डोरीको सहायताले शव निकाल्ने प्रयास गरिरहनुभएको छ। जिपको अघिपछि रहेका अन्य सवारीमा स्थानीयहरू नै भए पनि शवलाई बाटोमा निकाल्न नसकिएको कारण सनाखत हुन ढिलाइ भएको हो।

यो हृदयविदारक घटनापछि यतिबेला रोल्पा र रुकुम पूर्वको सीमावर्ती क्षेत्र शोकमग्न बनेको छ।

यसै बिच गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा बिहीबार भएको जिप दुर्घटनाको छानबिन गर्न सचिवस्तरको निर्णयाबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार