नरहरिनाथ (कालीकोट), १० वैशाख । कालीकोटको नरहरिनाथ गाउँपालिकामा जारी १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स विधाका खेलहरू उत्साहजनक रूपमा अघि बढेका छन्। प्रतियोगिताको पछिल्लो नतिजा अनुसार तिलागुफा नगरपालिकाले आफ्नो वर्चस्व कायम राखेको छ भने पलाँता र पचालझरना गाउँपालिकाले पनि कडा टक्कर दिइरहेका छन्।
तिलागुफाकी सरिता र पलाँताका दिनेशको उत्कृष्ट प्रदर्शन यस प्रतियोगितामा तिलागुफा नगरपालिकाकी सरिता शाही र पलाँता गाउँपालिकाका दिनेश बम सबैभन्दा सफल खेलाडीका रूपमा देखिएका छन्। सरिताले १०० मिटर दौड, लङजम्प र त्रिपलजम्पमा प्रथम स्थान हासिल गर्दै ह्याट्रिक स्वर्ण जितेकी छन्। त्यस्तै, दिनेश बमले ज्याभलिन थ्रो र त्रिपलजम्पमा स्वर्ण जित्नुका साथै १०० मिटर दौडमा रजत पदक प्राप्त गरेका छन्।
दौड तथा रिलेतर्फको नतिजा प्रतियोगिताको १०० मिटर छात्र दौडमा तिलागुफाका नरेन्द्र बस्नेत पहिलो हुनुभएको छ। ३००० मिटरको लामो दूरीको दौडमा छात्रतर्फ तिलागुफाका रविन्द्र रावत र छात्रातर्फ पचालझरनाकी करिश्मा ऐडीले स्वर्ण जितेका छन्। ४ गुणा १०० मिटर रिले दौडमा छात्रतर्फ मदन बम सम्मिलित पलाँता गाउँपालिका र छात्रातर्फ सरिता शाही सम्मिलित तिलागुफा नगरपालिका प्रथम भएका छन्।
फिल्ड इभेन्टमा कालीकोटका तन्नेरीको जोस
हाइजम्पतर्फ छात्रमा खाँडाचक्रका हेमल रोकाया र छात्रामा पचालझरनाकी करिश्मा ऐडीले बाजी मारेका छन्। लङजम्प छात्रमा आयोजक नरहरिनाथका प्रशान्त विष्टले प्रथम स्थान सुरक्षित गर्दा त्रिपलजम्प र ज्याभलिन थ्रोमा पलाँता र तिलागुफाकै दबदबा रह्यो। ज्याभलिन थ्रो छात्रातर्फ पचालझरनाकी सकियता कठायतले स्वर्ण पदक जित्न सफल हुनुभएको छ।
प्रतियोगितामा हालसम्मको पदक तालिकामा तिलागुफा नगरपालिका अग्रस्थानमा देखिए पनि पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिकाले पछ्याइरहेका छन्। जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरू पदकका लागि भिडिरहेका छन् र बाँकी विधाका खेलहरू अहिले पनि जारी रहेका छन्।
हामीले याे खबर पत्रकार कमल काेपिलाकाे सहयाेगमा तयार गरेका हाैं ।