वीरेन्द्रनगर, ८ वैशाख । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराज सापकोटाले प्रदेशको शान्तिसुरक्षा र प्रहरीको आचरण व्यवहारमा कुनै सम्झौता नगर्न मातहतका प्रहरी कार्यालयहरूलाई कडा निर्देशन दिनुभएको छ। आज वैशाख ८ गते प्रदेश प्रहरी कार्यालयबाट भौतिक र भर्चुअल (अनलाइन) माध्यमबाट एकैसाथ सम्बोधन गर्दै उहाँले प्रहरी सेवालाई थप जनमुखी बनाउन जोड दिनुभएको हो।
निर्देशनका क्रममा डिआइजी सापकोटाले प्रहरी कर्मचारीहरूको व्यक्तिगत आचरण र कार्यक्षेत्रमा देखिने व्यवहारले नै समग्र संगठनको छवि निर्धारण गर्ने बताउनुभयो। उहाँले नागरिकसँग गरिने व्यवहार शिष्ट र सभ्य हुनुपर्नेमा जोड दिँदै गलत क्रियाकलापमा संलग्न हुने वा प्रहरी आचरण विपरीत काम गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो।
सम्बोधनका क्रममा प्रहरी कार्यसम्पादन र त्यसको मूल्याङ्कनलाई वस्तुनिष्ठ बनाइने र उत्कृष्ट काम गर्नेहरूलाई प्रोत्साहन गरिने समेत उहाँले उल्लेख गर्नुभयो। विशेष गरी ग्रामीण क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध कारोबारको निगरानी र सवारी दुर्घटना न्यूनीकरणका लागि सक्रिय भएर खटिन उहाँले निर्देशन दिनुभएको छ। भौतिक रूपमा उपस्थित भएका र भर्चुअल माध्यमबाट जोडिएका विभिन्न जिल्लाका प्रहरी प्रमुख तथा मातहतका युनिटहरूलाई सम्बोधन गर्दै उहाँले सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी नागरिकले सुरक्षाको महसुस गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो।