नरहरिनाथ, ८ वैशाख । कालीकोटको नरहरिनाथ गाउँपालिकामा हिजोदेखि सुरु भएको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन ७ गते साेमबार विभिन्न विधाका खेलहरू उत्साहजनक रूपमा सम्पन्न भएका छन्। प्रतियोगिताको सुरुवाती नतिजा अनुसार एथलेटिक्स र भलिबलतर्फ विभिन्न पालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
८०० मिटर दौड: तिलागुफाको दोहोरो जित
प्रतियोगिता अन्तर्गत ८०० मिटर दौडमा तिलागुफा नगरपालिकाका खेलाडीहरूले सानदार जित दर्ता गरेका छन्। छात्रतर्फ तिलागुफाका अनिल शाही प्रथम हुनुभएको छ भने नरहरिनाथका सुमन सहकारी द्वितीय र पलाँताका शरण बम तृतीय हुनुभएको छ। त्यसैगरी छात्रातर्फ पनि तिलागुफाकै जेनिशा शाही प्रथम र कर्मिता बुढा द्वितीय हुनुभएको छ भने आयोजक नरहरिनाथकी सूचना महताराले तृतीय स्थान हासिल गर्नुभएको छ।
छात्रा भलिबल: आयोजक नरहरिनाथको सुखद सुरुवात
छात्रा भलिबलतर्फ भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक नरहरिनाथ गाउँपालिकाले विजयी सुरुवात गरेको छ। खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिका बीच भएको खेलमा खाँडाचक्रलाई पराजित गर्दै नरहरिनाथ विजयी भएको हो।
जिल्लाका नौवटै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगिताले कालीकोटको खेल क्षेत्रमा नयाँ उत्साह थपेको छ। पहिलो दिनको खेल सकिँदा तिलागुफा नगरपालिका पदक तालिकामा अगाडि देखिएको छ भने अन्य विधाहरूको खेल आज पनि जारी रहने आयोजकले जनाएको छ। स्थानीय स्तरमा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई जिल्लाबासीले निकै चासोका साथ हेरिरहेका छन्।