मान्म, ८ वैशाख । आफ्ना सदस्यहरूको दुःखमा साथ दिने सामाजिक उत्तरदायित्व अन्तर्गत तिलागुफा र पचालझरनाका दुई दिवंगत सदस्यका परिवारलाई संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ। सदस्यको मृत्युपश्चात परिवारलाई आइपर्ने तत्कालको आर्थिक भार कम गर्न संस्थाले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।
तिलागुफा नगरपालिका वडा नम्बर ६ निवासी एवं सेवा केन्द्र तिलागुफा (केन्द्र नम्बर ३१) की सदस्य कुम्मकला शाहीको गत चैत्र २६ गते भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै संस्थाले क्रिया खर्च उपलब्ध गराएको छ। सेवा केन्द्र व्यवस्थापक गोर्ख महाताराको उपस्थितिमा मृतक शाहीका श्रीमान मनसिंह शाहीलाई क्रिया खर्चवापत नगद १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।
त्यसैगरी, पचालझरना गाउँपालिका वडा नम्बर १ सिकु निवासी संस्थाका शेयर सदस्य दलसिंह ऐडीको पनि गत चैत्र २५ गते असामयिक निधन भएको थियो। ऐडीको १३ औँ दिनको पुण्यतिथिका अवसरमा सेवा केन्द्र पचालझरनाका व्यवस्थापक पुष्प प्रसाद उपाध्यायले मृतककी धर्मपत्नी मन्ना ऐडीलाई भेटेर क्रिया खर्चवापत १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ।
संस्थाले दुवै सदस्यको बीमा प्रक्रिया पुरा भएलगत्तै जनही १ लाख रुपैयाँ बीमाबापतको रकम समेत परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आफ्ना सदस्यहरूलाई केवल वित्तीय कारोबारमा मात्र नभई व्यक्तिगत र पारिवारिक संकटको समयमा पनि मलम लगाउने संस्थाको यो कार्यले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।