वीरेन्द्रनगर, ७ वैशाख । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द प्रसाद रिजालले कार्यरत प्रहरी कर्मचारीहरूलाई अनुशासित, शिष्ट र पूर्णतः सेवामुखी भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ। आज वैशाख ७ गते कार्यालयको समग्र अवस्थाको निरीक्षण तथा ब्रिफिङ गर्नुहुँदै उहाँले सडकमा खटिने ट्राफिक प्रहरीको व्यवहारले नै संगठनको छवि झल्काउने भएकाले नागरिकमैत्री व्यवहारमा जोड दिनुभएको हो।
निरीक्षणका क्रममा एसपी रिजालले कार्यालयको आन्तरिक अवस्था, सेवा प्रवाहको गुणस्तर तथा हाल भइरहेको ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यहरूको विस्तृत समीक्षा गर्नुभएको थियो। उहाँले कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्रमा इमान्दारीता, सक्रियता र उच्च उत्तरदायित्वका साथ खटिन आग्रह गर्नुभएको छ। विशेष गरी बढ्दो सवारी चाप र यसबाट सिर्जना हुन सक्ने सवारी दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी र वैज्ञानिक ट्राफिक व्यवस्थापनमा खटिनु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ थियो।
सवारी दुर्घटना न्यूनीकरणका लागि केवल कारबाही मात्र पर्याप्त नहुने उल्लेख गर्दै एसपी रिजालले सडक प्रयोगकर्ताहरूमा चेतना अभिवृद्धि गर्न र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभयो। उहाँले सडकमा खटिने क्रममा कुनै पनि प्रकारको मोलाहिजा नगर्न र जिम्मेवारीपूर्वक सडक सुरक्षामा समर्पित हुन समेत कर्मचारीहरूलाई सचेत गराउनुभएको छ। यस निरीक्षण तथा ब्रिफिङ कार्यक्रमले कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा सुर्खेतको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।