मान्म, ७ वैशाख । कालीकोटमा ‘गभर्मेन्ट कुरियर सर्भिस’ अन्तर्गत सुरु गरिएको घरदैलोमा राहदानी (पासपोर्ट) वितरण कार्यले तीव्रता पाएको छ। जिल्ला हुलाक कार्यालय कालीकोटले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अभियान सुरु भएको दुई दिनमै जिल्लाका विभिन्न स्थानीय तहका ७७ जना सेवाग्राहीले आफ्नै घरमा राहदानी प्राप्त गरेका छन्।
जिल्ला हुलाक कार्यालयले वैशाख ५ र ६ गते वितरण गरेको विवरण अनुसार सबैभन्दा बढी नरहरीनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकाका नागरिक लाभान्वित भएका छन्। नरहरीनाथमा १४ थान, खाँडाचक्रमा १७ थान र शुभकालिका गाउँपालिकामा १३ थान राहदानी घरमै पुर्याइएको छ। त्यस्तै तिलागुफा नगरपालिकामा १० थान, महावैमा १३ थान, रास्कोटमा ५ थान, पचालझरनामा ४ थान र पलाँता गाउँपालिकामा १ थान राहदानी वितरण गरिएको जिल्ला हुलाक अधिकृत टोप बहादुर शाहीले जानकारी दिनुभएको छ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त कुल १५२ थान राहदानीमध्ये हालसम्म ७७ थान वितरण भइसकेको र बाँकी राहदानीहरू पनि सम्बन्धित धनीको घरमै पुर्याउने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ। सान्नीत्रिवेणी गाउँपालिकामा भने वैशाख ६ गतेसम्म वितरण सुरु हुन सकेको छैन।
हुलाकका हल्कारा र कर्मचारीहरू सिधै नागरिकको ढोकामा पासपोर्ट बोकेर पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने सास्ती र खर्च जोगिएको भन्दै सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। यो अभियानले सरकारी सेवा प्रवाहमा नयाँपन दिनुका साथै राज्यको उपस्थिति गाउँ-गाउँमा महसुस गराएको छ। हुलाक कार्यालयले राहदानी बुझ्ने क्रममा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने सक्कल कागजात साथमा राख्न र वितरणमा खटिएका कर्मचारीलाई सहयोग गरिदिन पुनः अपिल गरेको छ।